काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं.७ बसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।
साथै, यस विकास बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरूलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीलाई दीर्घसेवा पदक र मायाको चिनो प्रदान गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शुभकामना सहित स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष चिन्तामणि भट्टराईले सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना तथा बधाई दिए ।
हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरूका तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।