काठमाडौं । बन्द भएको २४ दिनपछि राजधानी दैनिक पुनः प्रकाशन सुरु भएको छ । पत्रिकाको पुनः प्रकाशनसँगै तीन महिनाअघि सम्पादक नियुक्त भएका ध्रुव लम्सालाई सञ्चालक सदस्यले बर्खास्त गरेको छ । सञ्चालक समिति सदस्यको बहुमतको निर्णयले सरोज मिश्रलाई सम्पादकमा नियुक्त गरेसँगै लम्साल बर्खास्तमा परेका हुन् । तर, अध्यक्षले मिश्रलाई सम्पादकको रुपमा स्वीकारेकी छैनन् ।
महेन्द्र शेरचनको निधनपछि नन्दा शेरचन अध्यक्ष र आशिष सेरचन सिइओ बनेर पत्रिका सञ्चालन गरेका थिए । शेयर होल्डर पाँचजना रहेका छन् । नन्दा र आशिषको सम्बन्ध पहिल्यैदेखि राम्रो नभएको त्यहाँ कार्यरत पत्रकार बताउँछन् । आमा छोराबीचको सम्बन्ध थप खराब बनाउन प्रशासन प्रमुख देव श्रेष्ठ र वितरण प्रमुख सन्तोष शर्माले भूमिका खेलेको वितरण विभागमा कार्यरत कर्मचारीहरूको आरोप छ ।
राजधानी न्यूज पब्लिकेशनको चेकमा नन्दा र आशिषको हस्ताक्षर चल्छ । चेकमा हस्ताक्षर गर्नुअघि नन्दाले हिसाब मागे पनि प्रशासन प्रमुख र वितरण प्रमुखले हिसाब दिन आनाकानी गर्दै आएका छन् । कागज, मसीलगायतका अन्य सामग्री खरिदमा श्रेष्ठ र शर्माले लामो समयदेखि कमिशन खाँदै आएको कर्मचारीको भनाइ छ । ‘प्रशासन र वितरण प्रमुखले अध्यक्षकोमा चेकमा हस्ताक्षर गर्न जाने तर, हिसाब दिन नमान्ने गरेपछि पछिल्लो समय अध्यक्ष रुष्ट भएकी थिइन्’, स्रोतले भन्यो ।
हिसाब नदेखाएकै कारण अध्यक्षले कागज खरिदको चेकमा हस्ताक्षर गर्न नमानेपछि पत्रिका बन्द भएको थियो । आमाले चेकमा हस्ताक्षर गर्न नमानेपछि घरज्वाइँ बस्दै आएका आशिषले ससुरासँग पैसा सापटी लिएर केही रोल कागज किनेर २४ दिनपछि पत्रिका सञ्चालन गरेका छन् ।
अध्यक्षले नियुक्त गरेको भन्दै सम्पादक लम्सालदेखि असन्तुष्ट रहँदै आएका आशिषले पत्रिका बन्द भएपछि पत्रकारलाई आठ घण्टा काम लगाउन निर्देशन दिएका थिए । सम्पादक लम्सालले आशिषको आदेश नमानेपछि पत्रिकाबाट बर्खास्त गरेको पत्रकारहरूको भनाइ छ । त्यसो त डेस्कमा कार्यरत रोशन श्रेष्ठ र युमाश शेर्पाले जहिल्यै आशिषलाई पत्रकारलाई पेल्नुपर्ने सुझाव दिने गरेका छन् । उनीहरू आशिषका प्रिय मानिन्छन् ।
सशस्त्र प्रहरी र राजधानी दैनिकबीच बिचौलियाको काम गर्दै आएका रोशन श्रेष्ठ सशस्त्र प्रहरीको विज्ञापन छापेर मोटो रकम कमिशन खाने गर्छन् भने रिपोर्टिङको मिटिङमा पत्रकारले पनि विज्ञापन खोज्नुपर्ने कुरा गर्छन् । अहिले समाचारपत्रमा सम्पादक रहेका सागर पण्डित पनि विज्ञापन खोजेर कमिशन खाने काम गर्थे । सागर र रोशनको उदहारण दिँदै आशिषले समाचार लेख्नेभन्दा पनि विज्ञापन खोज्ने पत्रकारलाई क्षमतावान मान्ने गरेका छन् ।
अहिले सम्पादक नियुक्त भएका सरोज मिश्रले पनि कांग्रेस सरकारमा भएकाले विज्ञापन खोजिदिने आश्वासन आशिषलाई दिएका छन् ।
प्रहरीबाट बच्न पत्रिका प्रकाशन
राजधानीमै आयोजित एक कार्यक्रममा पत्रकार महासंघ राजधानी प्रतिष्ठानका अध्यक्ष ईश्वर विश्वकर्मामाथि आशिषको निर्देशनमा शिव गौतमलगायत वितरण विभागमा कार्यरत कर्मचारीले ढोका थुनेर आक्रमण प्रयास गर्दै जातीयरूपमा अपमान गरेका थिए ।
उक्त घटनापछि ईश्वरले महानगरीय प्रहरी प्रभाग टेकुमा आशिषविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीमा किटानी जाहेरी परेकाले पक्राउ हुनबाट बच्नका लागि पनि केही दिनका लागि पत्रिका निकालिएको आशिषनिकट पत्रकारको भनाइ छ । उक्त घटनाको पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विज्ञप्तिमार्फत विरोधसमेत गरेका छन् ।
जिल्ला संवाददाता पनि प्रेस रजिष्ट्रार जाने तयारीमा
राजधानी दैनिकको ५० भन्दा बढी जिल्लामा संवाददाता रहेका छन् । एक वर्षदेखि जिल्ला संवाददाताले पारिश्रमिक पाएका छैनन् । पारिश्रमिकका लागि फोन गर्ने जिल्ला संवाददातालाई प्रशासन प्रमुख श्रेष्ठले ‘पैसा चाहिने भए विज्ञापन खोजेर पठाउनु’ भनेर रुखो जवाफ दिने गरेका छन् ।
विचार पृष्ठमा नियमित लेख लेख्दै आएका स्तम्भकारहरूको समेत पारिश्रमिक बाँकी छ । लेखकहरूलाई समेत श्रेष्ठले ‘पैसा दिँदैन भन्ने थाहा हुँदा हुँदै किन लेखेको त ?’ भनेर बचन लगाउने गरेको एक लेखकले बताए ।
अहिले विभिन्न जिल्लामा संवाददाताका रुपमा काम गरेकाहरू सामुहिक रुपमा पारिश्रमिक माग गर्दै प्रेस रजिष्टारको कार्यालयमा जाने तयारीमा छन् ।
न्युजरुमको कन्तबिजोग
पत्रकारलाई ८ घण्टा काम लगाउने आशिषको नीतिले हावा खाएको छ । अध्यक्षद्धारा बर्खास्तमा परेका प्रशासन प्रमुख देव श्रेष्ठले पत्रकारलाई ८ घण्टा काम गर्न पटक पटक निर्देशन जारी गरे पनि पत्रकारले टेरेनन् । अहिले राजधानीको न्युजरुम सुनसान देखिन्छ ।
सम्पादक मिश्रले आफु विज्ञापनमा केन्द्रित हुने भन्दै डेस्कमा बस्नेलाई विभिन्न अनलाइनमा छापिएका समाचारलाई जोडजाड पार्न निर्देशन दिने गरेका छन् ।