सार्वभौम संसद् मुलतः कानुन बनाउने थलो हो । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि अझै पनि धेरै कानुनहरु बन्न बाँकी छन् । कानुनको अभावमा प्रदेशका अधिकार कुण्ठित भएको छ । देश संघीयतामा गए पनि प्रदेशले संघीयताको अधिकार प्रयोग गर्न पाएको छैन । जसका कारण प्रदेश अपांगजस्तै बन्न पुगेको छ ।
जननिर्वाचित सांसदहरुको मुख्य जिम्मेवारी नागरिकको पक्षमा कानुन बनाउने हो । तर, सार्वभौम संसद् दिनहुँ ‘गाईजात्रा’ प्रदर्शन गर्ने थलोको रुपमा रुपान्तरण भइरहेको छ । यसले संसद्को गरिमा घटाएको छ । सांसदहरुले आफ्नो हैसियत र जिम्मेवारी बिर्सेर जथाभावी बोलिरहेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका हरेक गतिविधि सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको कुराको ख्याल सांसदहरुले गरेको पाइँदैन । जसका कारण सांसदहरु दिनहुँ सार्वजनिकरुपमा नांगिरहेका छन् । शून्य समयमा बोल्ने सांसदहरु तर्कका आधारमा भन्दा पनि पूर्वाग्रही भएर बोलिरहेका छन् ।
यसले हाम्रा सांसदहरुको बौद्धिक दरिद्रता प्रदर्शन गरिरहेका छन् । देश पछाडि पर्नुमा हाम्रा सांसदहरुको गैरजिम्मेवार प्रस्तुति, पूर्वाग्रही मानसिकता र विरोधका लागि विरोध गर्ने प्रवृत्ति पनि कम जिम्मेवार छैन ।
एउटा माघले जाडो जाँदैन भनेझैं ओलीले अर्को माघसम्म कुर्न सकेनन् । त्यसो नगरी प्रचण्डलाई ढाल्न कांग्रेसको बुई चढ्न खोज्दा आज एमाले विक्षिप्त बन्न पुगेको छ । त्यसैको निरन्तरता हो संसद् अवरोध । प्रचण्डको राजीनामाको माग ।
जननेता मदन भण्डारी भन्थे– ‘हामी रचनात्मक आलोचनाको पक्षमा छौं । भण्डारी बाँचुञ्जेल उनले विरोधका लागि विरोध गरेनन् । न त सत्तापक्षलाई पूर्वाग्रह, रिसको भरमा आलोचना गरे । जनताको बहुदलीय जनवादमार्फत् संसदीय राजनीतिमा प्रवेश गरेका भण्डारीले प्रतिस्पर्धाको राजनीतिबाटै राज्यसत्ता परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउने सपना देखेका थिए ।
आज एमाले जुन धरातलमा उभिएको छ, त्यसको जग भनेकै मनमोहन अधिकारी र मदन भण्डारीको आदर्श हो । हरेक वर्ष एमालेले मदन भण्डारी र मनमोहन अधिकारीलाई त सम्झन्छ, तर उनीहरुको आदर्श बिर्सन्छ । त्यसैले एमाले पार्टी आज चौबाटोमा उभिएको छ । उसले वैचारिक धरातल गुमाएको छ ।
सन्दर्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा पुस्तक विमोचन कार्यक्रममा बोलेको शब्दलाई लिएर एमालेले संसद् अवरोध गर्याे । प्रचण्डले बोल्नुहुने कुरा बोले अथवा बोल्न नहुने कुरा बोले त्यो भिन्दै कुरा होला । तर, यथार्थ कुरा के हो भने नेपालको राजनीतिक सन्दर्भमा भारतलाई चिढ्याएर कोही पनि सत्तामा टिक्न सक्दैनन् । यो कुरालाई प्रचण्डले खुलस्त बताइदिए ।
हुन पनि भारतको इशाराबिना नेपालमा न त सरकार बन्छ, न त सरकार ढल्छ नै । यो वास्तविकता हो । यसमा प्रचण्डको राजीनामा माग्ने कुरा बौद्धिक दरिद्रता हो ।
दुईतिहाइको कम्युनिष्ट सरकार साढे तीन वर्षमा कसले ढाल्यो, कसको इशारामा संसद् भंग भयो, किन कम्युनिष्ट पार्टीहरु एक हुनसकेका छैनन ? यी प्रश्नहरुको जवाफ खोज्ने हो भने नेपालको राजनीतिको चाबी कसको हातमा छ भन्ने कुरा प्रष्ट हुन्छ ।
प्रतिपक्ष दलका नेता केपी शर्मा ओली स्वयंले धेरै कुरा भोगेका छन् । नेपालको प्रधानमन्त्री कसलाई बनाउने भन्ने चाहना हामीमा मात्र सीमित छैन । हाम्रो कमजोरीमा विदेशी शक्तिले खेल्दा कतिपय कुरा हाम्रा इच्छाभन्दा बाहिर पनि गएको छ ।
सानो उदाहरणका लागि तेस्रोपटक प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाए । माओवादी र एमाले मिलेर सरकार पनि बन्यो । तर, त्यो धेरै दिन टिकेन । फेरि कम्युनिष्टहरु मिल्ने भए भनेर माओवादी र एमाले गठबन्धन भत्काइयो । बुद्धि भएको भए माओवादीसँगको सहयात्रालाई एमालेले प्रतिपक्षमै बसेर निरन्तरता दिनुपथ्र्यो ।
एउटा माघले जाडो जाँदैन भनेझैं ओलीले अर्को माघसम्म कुर्न सकेनन् । त्यसो नगरी प्रचण्डलाई ढाल्न कांग्रेसको बुई चढ्न खोज्दा आज एमाले विक्षिप्त बन्न पुगेको छ । त्यसैको निरन्तरता हो संसद् अवरोध । प्रचण्डको राजीनामाको माग ।