काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले भदौ २६ गतेदेखि सवारीसाधनको कुम्भ मेला नाडा अटोसो आयोजना गर्ने भएको छ । नाडाले तीन वर्षपछि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेलाको आयोजना गर्न लागेको हो । उक्त अटोसो मेला भदौ ३१ गतेसम्म संचालन हुने नाडाले जनाएको छ ।
अटोसोका लागि नाडाले स्टल बुकिङ समेत खुला गरेको छ । नाडाको आयोजनामा हरेक वर्षको दशैंअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यसै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिवन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।
‘यस पटकको नाडा अटोसोमा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने छ’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसाग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।’ करिब ४ वर्षपछि हुन लागेको वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।