एजेन्सी । यमुना नदीको बाढीले भारतको राजधानी नयाँ दिल्ली निकै प्रभावित बनेको छ । राजधानीबाट अलि टाढा रहेको गाजियाबाद–बागपत सीमामा रहेको अलिपुर बाँध यमुना नदीको तीव्र बहावका कारण भत्किएपछि दिल्ली उच्च बाढीको उच्च जोखिममा परेको छ ।
यस तटबन्धमा ३० देखि ३५ मिटरसम्म क्षति भएको छ, जसलाई भर्ने प्रयास भइरहेको प्रशासनिक अधिकारीले बताएका छन् ।बाँध फुट्दा हजारौं बिघा बाली डुबानमा परेपछि गाउँले र प्रशासनमा हलचल मच्चिएको छ । १९७२ मा निर्माण गरिएको यो बाँध भत्किएपछि दिल्लीमा यमुनाको जलस्तर अझै बढ्ने खतरा रहेकाे बीबीसीले जनाएकाे छ ।
बाँध भत्किएपछि नजिकैको सुभानपुर गाउँमा पानी पसेपछि हजारौं बिघा बाली डुबानमा परेको छ । यससँगै बागपत जिल्लामा पनि खतरा हुन थालेको छ । प्रशासनको टोली घटनास्थल पुगेर बाँधको मर्मत गर्ने काम गरिरहेको भएपनि मर्मतको काम भने पूरा हुन सकेको छैन ।
भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो ।
अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने बीबीसीले जनाएको छ । दिल्लीका सडक पानीले भरिएका छन् ।
बाढी र डुबानका कारण दिल्लीका विद्यालय र कलेज आइतवारसम्म बन्द गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।
यस्तै अत्यावश्यक सेवा दिने सरकारी कार्यालयबाहेक अन्य सबै सरकारी निकायका कर्मचारीलाई घरबाटै काम गर्न पनि मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् ।