काठमाडौं । एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका वडा नं ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय डकाहालाई खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यस सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।
यस्तै, विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति थियो ।