काठमाडौं, ८ पुस
चिनियाँ सरकारको आग्रहमा नेपालमा बसेर अपराधिक गतिविधिमा संलग्न चिनियाँविरुद्ध प्रहरीले ‘स्वीप अप्रेसन’ थालेको छ । सोमबारको अप्रेसनमा अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । उनीहरुलाई प्लेन चार्टर गरी लैजाने चीनको तयारी छ ।
प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरुविरुद्ध संयुक्त रुपमा कारबाही थालेको हो । पक्राउ परेकामध्ये धेरै जसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाज र अन्य ठगीसम्बन्धि आर्थिक अपराधमा संलग्नहरु छन् । जसलाई चिनियाँहरुले खोजी सूचिमा राखेको थियो । चिनियाँ अधिकारीले दिएको सूचिकै आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले ६ सय जनाको सुचि दिएको थियो ।
मनमैजुको चार, बाँसबारीको दुई र बुढीनिलकण्ठ एक घरमा छापा हानी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ‘चिनियाँ पक्षले ६ सय जनाको सुचि दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने,‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेको हुनसक्छ ।’
केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अप्रेसन चलाएको हो । बाँसबारी, नयाँबजार क्षेत्रमा उनीहरु घर नै भाडामा लिएर बस्दै आएका थिए । पक्राउ परेकाहरु सबैजसो पर्यटक भिसामा थिए । समूह–समूह मिलेर उनीहरु बसेका थिए ।
पक्राउ परेकाहरुबाट ल्यापपट, मोबाइल लगायत बिद्युतीय डिभाइस बरामद भएको र त्यसउपर अनुसन्धान भइरहेको सिआईबीका निर्देशक डिआईजी निरज शाहीले बताए । विदेशीविरुद्ध नेपाल प्रहरीले यस्तो खालको कारबाही पहिलोपटक गरेको हो ।
संगठित किमिसको आर्थिक अपराधमा संलग्नहरु छन् । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारीहरु गत साता काठमाडौं आएका थिए । पक्राउ पर्नेहरु नेपालमा बसेर चीनमा अपराध गर्नेहरु छन् ।
चीनले यो अप्रेसन चीनले नेपालसहित फिलिपिन्स, मलेसिया, सिंगापुर लगायत पूर्वी एसियाली देशहरुमा एकैपटक गरेको हो । तीन महिनादेखि यसका लागि नेपाली र चिनियाँ अधिकारीहरुले गोप्य तयारी गरेका थिए ।
चार्टड विमानबाट चीन लैजाने तयारी
पक्राउ परेका चिनियाँमध्ये कतिपयको फैजदारी मुद्दा स्थापित हुन सकेको उनीहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने छ । अन्यलाई अध्यागमन विभागले कारबाही गर्नेछ । भिषा सम्बन्धि कानून मिचेकोमा उनीहरुमाथि कारबाहीको तयारी भइरहेको स्रोत बताउँछ । त्यसरी अध्यागमनसम्बन्धि कारबाही भएपछि उनीहरुलाई निष्काशनको निर्णय हुने छ । निष्काशन गरिएका चिनियाँहरुलाई चीनले विमान ने चार्टड गरेर लैजाने तयारी गरेको छ । अन्तरदेशीय अपराध भएकाले उनीहरुलाई चीनमै लगेर थप अनुसन्धान गर्न लागिएको छ ।
नेपालमा बसेर अन्तरदेशीय अपराध गर्ने प्रवृत्ती देखिएपछि चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुदर्गी सन्धि गर्ने तयारी गरेको थियो । तर, त्यसले तिब्बती शरणाथीलाई समेत समेट्ने भन्दै विरोध भएपछि सहमति हुन सकेन । ‘सन्धि भएको अवस्थामा उनीहरुको सुपुदर्गी नै हुन्थ्यो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘सन्धि नभएकाले निष्काशनको प्रक्रियामार्फत चीन पठाउन लागिएको हो, यसले हाम्रो देशमा बढेको चिनियाँहरुको अपराधिक गतिविधि पनि नियन्त्रण हुने हाम्रो अपेक्षा छ ।’