मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए । रविन्द्र ७७ वर्षका महाजनी प्राय यही फ्ल्याटमा बस्न आउने गर्थे ।
घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा रहेको भेटिएको थियो । । रवीन्द्रको मृत्यु दुई–तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ ।
प्रहरीका अनुसार रविन्द्र महाजनी मुम्बईका बासिन्दा थिए । उनी करिब ८ वर्षदेखि तलेगाउँ दाभाडेको अम्बीस्थित जरबिया सोसाइटीमा भाडाको अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । शुक्रबार साँझ करिब ४ः३० बजे अपार्टमेन्टबाट दुर्गन्ध आए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि तलेगाउँ एमआईडीसी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर अपार्टमेन्ट भित्रबाट ताला लगाएको फेला पारेको थियो । स्थानीय बासिन्दाको उपस्थितिमा प्रहरीले ढोका तोडेर भित्र रविन्द्रको शव फेला पारेको थियो ।
रविन्द्र महाजनी अभिनेता गश्मिर महाजनीका पिता थिए । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए । उनको फिल्म ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो । सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।