काठमाडौं । प्राइम कमर्सियल बैंकले साउनमा ब्याजदर बढाउने भएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाउने निर्णय गरेको हो ।
बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ९ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । असारमा बैंकले सोही बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत र रेमिट्यान्समा ८.४० प्रतिशत ब्याज प्रदान गरेको थियो ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ८.९३ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ३ महिनासम्मको लागि १९.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यसअघि असारमा संस्थागततर्फ ७.९९ र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत थियो ।
बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर १०.८४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ११.०५ प्रतिशत थियो ।