काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकको कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
हाल बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
हाल बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १० प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले निक्षेपतर्फको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घटाएको छ । साउनमा बैंकले कर्जाको ब्याजदर आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । हाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम लिइरहेको छ ।