Logo
Logo

एउटै पुस्तकमा १९५ देशका राष्ट्रका गान


1.1k
Shares

काठमाडौं । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहबीच ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन् ।

मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको बिम्बलाई प्रतिनिधित्व गर्ने भएकाले हरेक नागरिकलाई राष्ट्रिय गानले आत्मसम्मान र गौरव महसुस गराउने बताए । ‘हरेक देशको राष्ट्रिय गानले त्यो राष्ट्र कुन स्थितिमा निर्माण भएको हो ? भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्’ उनले भने, ‘राष्ट्रको भावी यात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।’

उनलेसबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए । मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न र संयुक्त भावले काम गर्नुपर्छ भन्ने भावना जागृत गर्न खोजेको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पु¥याएको धारणा राखे । उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे ।

पुस्तकमाथि समीक्षा गर्दै परराष्ट्रविद् तथा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए । उनले ‘विश्वका राष्ट्रिय गान’ पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे ।

उनले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको बताए । उनले राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै यसले एकताको लागि प्रेरित गर्ने विचार व्यक्त गरे । उनले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गरे ।

फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक सुन्दर, संग्रहणीय र अद्वितीय उपहारका साथै सिँगै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताए । कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, सङ्गीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको विचार व्यक्त गरे ।

फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताए ।
फाउन्डसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए ।

उनले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे । उनले भने, ‘यो पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो ।’

यस पुस्तकका प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहरेका छन् । पुस्तकको मूल अनुवादक प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् । उक्त पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्