काठमाडौं । विकास बैंकले साउनदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । महालक्ष्मी विकास बैंकले बचतमा ३.२८ देखि ७.५० प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपमा ११.१० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.१० प्रतिशत ब्याज दिने भएको छ । बैंकको आधारदर ११.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधार दरमा बढीमा ५ प्रतिशत प्रिमियम थपिनेछ ।
बैंकबाट १ देखि ५ वर्षका लागि होम लोन लिँदा १३.९९, ५ देखि १० वर्षका लागि १४.९९, १० वर्षभन्दा बढी अवधिका लागि १५.९९ प्रतिशत ब्याज लाग्नेछ । अटो लोन १ देखि ५ वर्षका लागि १३.९९, ५ देखि १० वर्षका लागि १४.९९ ब्याज लाग्नेछ ।
यस्तै, कामना सेवा विकास बैंकले साउन १ देखि लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ । बैंकले बचतमा ५.५० प्रतिशतदेखि ८.५० प्रतिशत ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत रुपमा ७.९९ प्रतिशत ब्याज तोकेको छ । सबै बैंकको ब्याज जेठ मसान्तसम्म १२.०६ प्रतिशत थियो । बैंकबाट कर्जा लिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।
त्यस्तै, ज्योति विकास बैंकले बचतमा ५.५० देखि ७.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.१० प्रतिशत र संस्थागततर्फ ८.१० प्रतिशत ब्याज तोकेको छ । बैंकको आधारदर जेठसम्म १२.३७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।
त्यस्तै, सिन्धु विकास बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा ५.८० प्रतिशतदेखि ७.८० प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा व्यक्तितर्फ ११.३० प्रतिशत र संस्थागत रुपमा ८.३० प्रतिशत ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधारदर १२.८४ प्रतिशत छ । कर्जा लिँदा ऋणीले आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थप्नुपर्नेछ ।
यस्तै, कर्पोरेट डेभपमेन्ट बैंकले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत ९ प्रतिशत ब्याज दिनेछ । बचतमा भने बैंकले ६ देखि ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । जेठ मसान्तसम्म बैंकको आधारदर १३.१८ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा ६.२५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्नेछ ।
लुम्बिनी विकास बैंकले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत र संस्थागत ८.१० प्रतिशत सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको आधारदर १२.१८ प्रतिशत छ भने कर्जा लिँदा आधारदरमा ४।५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंकले पनि साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार साउन १ बाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत, संस्थागततर्फ ८.१० प्रतिशत प्राप्त हुनेछ । बैंकले बचतमा ५.५० देखि ८.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । जेठ मसान्तसम्म बैंकको आधारदर १२.१० प्रतिशत छ ।