काठमाडौं । कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमईएफ)सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर ऋण लिने भएको छ ।
उक्त रकम विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नका लागि प्रयोग हुने कुमारी बैंकले जनाएको छ ।
२२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाईसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।