Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा क्रिसमसको शुभकामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ– ‘बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो सुन्दर देशमा यस्ता विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं ।’

‘नेपालको स्वाधीनता,एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदै र विभिन्न जात–जाति, धर्म, समुदाय बीचको सुसम्बन्धलाई प्रगाढ तुल्याउँदै, मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पुनः हार्दिक आह्वान गर्दछु । र, इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्