Logo
Logo

नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर पारित


1.9k
Shares

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई दिने योजना बनाएको २५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित भएको छ । कोषको २८औँ वार्षिक साधारणभाले २५ प्रतिशत बोनस सेयर र एक दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले आव ०७८÷७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको जनाइएको छ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको ०७९ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जनाएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले संचालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेटने बताएका थिए ।

अध्यक्ष प्रा.डा. थापाले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिबृद्धि गर्न सकिने अवसरको रुपमा रहेको बताए ।

कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिति बारे जानकारी दिएका थिए । कोषको कारोबारलाई क्रमशः सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिने उनको भनाइ थियो ।

आब २०७९÷८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुइ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको उल्लेख छ । उक्त अवधिमा कोषले दुइ खर्व १२ अर्व ६४ करोड ७३ लाख रुपैयाँ लगानी गरेको जनाइएको छ ।

सभामा बैंक तथा वित्तीय संस्थाहरुको समुहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्