काठमाडौं । अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायिका रचना रिमाल र सुरेश लामाको स्वर रहेको छ ।
गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको यस गीतको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीले अभिनय गरेका छन् । भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ । भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ ।
गीत रचना सँगसँगै नियात्रा, कथा, कवितालगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाउँदै आएका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ । डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडियो समेत बजारमा आएका छन् ।