काठमाडौं, ९ पुस । बलिउडकी चर्चित पाश्र्वगायिका आशा भोस्ले आज बुधबार काठमाडौंमा आउँदैछिन् । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी यहाँ आउन लागेकी हुन् ।
नेपाली गीत गायनमा समेत चचिृत गायिका भोस्लेले यही आउने शनिबार होटल सोल्टीमा आफ्नो एकल सांगीतिक प्रस्तुति दिँदैछिन् । यसअघि एकपटक मात्र नेपाल आएकी आशाको नेपालका लागि पहिलो सांगीतिक कार्यक्रम हो । तर, यसपटक उनले सांगीतिक कार्यक्रमसँगै नेपालको विभिन्न स्थानको भ्रमण समेत गर्दैछिन् ।
साधना कला केन्द्रको निमन्त्रणामा नेपाल आउन लागेकी आशासँगै बरिष्ठ संगीतकार रञ्जित गजमेरमा पनि आउँदैछन् । आशाले गजमेरकै संगीत गाउने साधनाका निर्देशक मिलन मोक्तानले जनाए ।
शनिबार राजधानीमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनलाई नेपालका तीन दर्शनभन्दा बढी कलाकारले साथ दिनेछन् । कार्यक्रममा आशासँगै प्रेमध्वज प्रधान, इन्द्रजित मिझार, बुद्ध लामा, रामकृष्ण ढकाल, उदय सोताङ, भारती घिमिरे, स्मिता दाहाल, प्राश्ना शाक्य, त्रृशला गुरुङ, गायत्री त्रिपाठी, मनोज राज, निशान भट्टराईलगायतका गायकगायिकाले पनि गाउनेछन् ।
गायिका आशाले गाएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ, ‘गैरी खेतको शिरै हान्यो, ‘एउटा मान्छे मन पर्छ’, ‘मोहनी लाग्ला है’जस्ता दर्जनौं नेपाली गीत कालजयी छन् । गायिका आशाले लुम्बिनी, पोखरा, मुक्तिनाथ, पशुपतिनाथलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।