Logo
Logo

हाइटीमा खाद्यान्न अभावको समस्या झेल्दै ४२ लाख नागरिक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस (एजेन्सी) । लामो समयदेखिको राजनीतिक अस्थिरता र खडेरीका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको छ । यहाँ महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बन्दै खाद्यान्नको आपूर्तिमै कमी आउने अवस्था देखिएको पाइएको हो ।
विगतमा महिनौँसम्म सरकारका विरुद्धमा प्रदर्शन र आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा जनाइएको छ । राजनीतिक अस्थिरताकै कारण गत सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दैछ ।
हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुदै गएको उनको भनाई छ । उनले हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने बताएका छन् । पछिल्लो एक प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्या झेलिरहेका छन् ।
संयुक्त राष्ट्रसंघले केही समयअघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको बताइएको थियो । त्यस अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो । तर, उक्त प्रतिवेदनले हाइटीको यस खाद्यान्न अभावको समस्या समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ ।
आगामी करिब चार महिनाभित्रै त्यहाँ कम्तीमा ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने उक्त प्रतिवेदनले औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्