Logo
Logo

बीमा अध्यक्षको पद धरापमा


2.8k
Shares

काठमाडौं । सरकारले नियुक्ती पत्रमा कार्यकाल समेत नतोकिएका बीमा प्राधिकरण(तत्कालिन बीमा समिति)का अध्यक्ष सुर्य सिलवाललाई हटाउने तयारी थालेको छ ।

नियामक निकायमा बसेर नियमन बाहेकका काम मात्रै गरेको, नागरिकता र जन्म मितिबारे विवादमा फसेको, निश्चित घरानाहरुलाई पोस्ने गरि पोलिसी बनाएको, सरकारी लगानीका कम्पनीहरुको व्यवसाय खोसेको लगायतका आरोपसहित सरकारले सिलवाललाई हटाउने तयारी थालेको स्रोतले बताएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सिलवालको विकल्पमा नयाँ पात्रहरुको खोजी समेत सुरु गरिसकेको स्रोत बताउँछ ।

अर्थमन्त्रालय निकट उच्च स्रोतका अनुसार सिलवालको नियुक्ती नै अबैधानिक रहेको भन्ने कोणबाट मन्त्रालयले अध्ययन गरिरहेको छ ।

‘उनको नियुक्ती पत्रमा कार्यकाल समेत तोकिएको रहेनछन, उमेर सम्बन्धमा पनि विवाद देखियो, कामहरु पनि सबै विवादास्पद मात्रै गरेका रहेछन्, यसबारे मन्त्रीज्यूको बिशेष सरोकार रहेको देखिन्छ’, अर्थमन्त्रालय उच्च स्रोतले दृष्टिसँग भन्यो ।

पूर्व गृह सचिव समेत रहेका सिलवाललाई राजश्व सचिवलाई क्रस गरेर तत्कालिन अर्थ सचिव शिशिर ढुंगानाले नियुक्तीको प्रस्ताव तयार पारेका थिए ।

मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७७ माघ २० गते सिलवाललाई नियुक्ती पत्र थमाएको थियो । सो नियुक्ती पत्रमा माघ १९ गतेको मन्त्रिपरिषद्को निर्णयले बीमा ऐन, २०४९ को दफा ६ तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ बमोजिम सिलवाललाई अध्यक्ष पदमा नियुक्त गरिएको भनिएको छ ।

सिलवालले अध्यक्षको नियुक्ती पाउँदा उनको उमेर ६४ बर्ष रहेको बताइन्छ । तर उनले अहिलेसम्म पनि अध्यक्षको जिम्मेवारीमै छन् ।

सिलवालको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र राहदानीमा फरक फरक उमेर देखिएको स्रोतको भनाइ छ । तर पनि अहिलेसम्म उनले आफ्नो उमेर सम्बन्धी यथार्थ जानकारी सार्वजनिक गरेका छैनन् । ्

पछिल्लो पटक उनी बिदेशमा रहेका बेला अर्थमन्त्री डा. महतले बीमा प्राधिकरणबाट सिलवालको निर्णय उल्टाईदिएका छन् । आतंकवाद जोखिम समुह(आरएसएमडएिसटी)को बीमा शुल्क निजी पुनर्बीमा कम्पनीलाई दिने सिलवालको निर्णयलाई अर्थमन्त्रीले ठाडो निर्देशन दिँदै फिर्ता गराउन लगाएका हुन् ।

अर्थमन्त्री डा. महतले सिलवालका कारण बीमा क्षेत्र सर्वाधिक बिवादमा परेको र नागरिकको विश्वास समेत गुम्ने अवस्थामा पुगेको बताउने गरेका छन् ।

पूर्वगृहसचिव सिलवालले लघु बीमा कम्पनीको लाइसेन्स प्रकरणमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग लाइन मिलाएका थिए ।

अहिले भने सिलवाललाई घर पठाउने तयारीसहित उनीमाथि मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको बुझिन्छ ।

सिलवालले कोरोनाको महामारीका बेला सेटिङमा हिमालयन रिलाई लाइसेन्स दिएका थिए । त्यसपछि सरकारी स्वामित्वको नेपाल रिको व्यवसाय खोसेका थिए । एकातिर बीमा कम्पनीहरुलाई जबरजस्ति मर्जरमा पठाएका सिलवालले त्यहि बीचमा ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएका थिए । अहिले पनि एउटा लघु बीमा कम्पनीले लगानी जुटाउन सकिरहेको छैन् । तर सिलवालले पटक पटक समय थप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्