काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुस्करबीच पानी बाराबारको अवस्था छ । मोदी माओवादीमा उपमहासचिव वर्षमान पुनका विश्वासपात्रका रूपमा परिचित थिए । तर अर्का उपमहासचिव जनार्दन शर्मासँग पनि उनले राम्रै सम्बन्ध बनाएका थिए ।
मोदीलाई हातमा लिएर पार्टीभित्र आफ्नो अवस्था बलियो बनाउन जनार्दन शर्माले मोदीलाई मन्त्री बनाउन प्रचण्डसँग पटक–पटक आग्रह गरे । मोदीलाई मन्त्री बनाएर सिंगो प्रशासनयन्त्र आफूले चलाउने सोच शर्माले बनाएका थिए । त्यसपछि मोदी माघ ३ गतेको मन्त्रिपरिषद् विस्तारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बने ।
आफ्नो जोडबलमा मन्त्री बनेका मोदीलाई सफल बनाउन र आफूलाई पनि काम गर्न सहज हुने भन्दै आफू शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई सचिव बनाएर लैजान मोदीलाई सिफारिस गरे ।
त्यो बेलामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सचिव रहेका पुस्करलाई मोदीले २३ माघको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सचिव बनाएर मन्त्रालयमा ल्याए ।
जनार्दनले मन्त्री बनाए पनि मोदी उनको विश्वासपात्र बनेनन् । जब वर्षमान पुन चीनबाट उपचार गरी फर्केर राजनीतिक क्रियाकलाप सुरु गरे, त्यसपछि पुस्करले पुनकै विश्वासपात्रका रूपमा काम गर्न सुरु गरे ।
त्यसअघि सचिव पुस्करले मन्त्री मोदीलाई भन्दा नेता जनार्दन शर्मालाई विश्वास गर्थे । मन्त्री मोदी पुनतिर ढल्किएपछि शर्माले सचिव पुस्करलाई असहयोग गर्न उक्साए । अहिले मोदी र पुस्करबीच पानी बाराबारको अवस्थामा पुगेको छ । सचिव पुस्करले मन्त्री मोदीले भनेका कुनै पनि काम गरेका छैनन् ।
आफूले भने अनुरुपका काम नगरेपछि मन्त्री मोदीले केही दिनअघि मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएका थिए ।
मुख्यसचिवसँग बैठकमा रहेको थाहा पाउँदा पाँउदै हाजिरीमा रातो लगाएपछि पुस्कर मन्त्री मोदीसँग झन चिढिएका स्रोत बताउँछ । अहिले मन्त्रालयमा मन्त्री भए सचिव नहुने र सचिव भए मन्त्री नहुने अवस्था सृजना भएको छ ।
मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गर्दै मन्त्री मोदीले अनुपस्थित देखेमा हाजिरीमा रातो घेरा लगाउन सुरु गरेपछि सबै कर्मचारी मन्त्रीसँग रुष्ट बनेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले केही दिनयता कर्मचारी सरुवाको विषयमा पनि मन्त्री मोदी र र सचिव पुष्करबीच खटपट हुँदै आएको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गर्छन् । सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिने गरेका छन् । यसले सम्बन्धमा झन दरार उत्पन्न भएको कर्मचारीहरू बताउँछन् ।
सरुवा गर्न दिएको निर्देशनलाई पुस्करले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस हाजिरीमा रातो घेरा लगाएर फेरेको चर्चा पनि सामान्यतिर सुनिन्छ । सचिवलाई अफ्टेरो पार्न मन्त्री मोदीले केही दिनदेखि नियमअनुसार गर्नै नमिल्ने खालका सरुवा गर्न पनि निर्देशन दिँदै आएका छन् । त्यो निर्देशन पुस्करले सुनेको नसुन्यै गर्ने गरेका छन् ।