Logo
Logo

मदन भण्डारी राजमार्ग : स्थानीयबीच सहमति नजुट्दा रोकियो सर्भे


- दृष्टि न्युज/संवाददाता

0
Shares

सुर्खेत, ९ पुस । स्थानीयबीच सडक रुटमा सहमति नुहँदा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध गरेका छन् ।
स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि भइरहेको सर्भे रोकिएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति जुट्न सकेको छैन । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले संघीय सडक बोर्डले साधारण मार्ग खोलिएका दुईलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताए ।
स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले विवाद सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । नगर प्रमुख थापाका अनुसार पञ्चपुरी–२ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ ।
पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाएका छन् । छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने उनको भनाइ ।
आन्दोलित स्थानीयवासीले पञ्चपुरी–२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन् । असन्तुष्ट स्थानीयवासीले संघर्ष समिति गठन गरेर सर्भे रोक्नाका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्