Logo
Logo

सबै समुदायका आस्थाको सम्मान गरौँ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् । इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस’का अवसरमा बुधबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेको हुन् । उनले सो सन्देशमा एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सबै समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्दै उनले विभिन्न जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई प्रगाढ तुल्याइने बताएका छन् ।
‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ ।’
साथै, लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता रहेको उल्लेख गर्दै सन्देशमा उनले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा यस्ता विशेषता मौलिक पूँजीका रुपमा रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्