Logo
Logo

आइजीपीको चीन भ्रमण रद्द, पालको नाम पनि अस्वीकृत


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० पुस । सरकारले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । आगामी पुस २१ गतेदेखि गृहमन्त्री रामबहादुर थापासँगै चीन जाने टोलीमा डीआइजी जानुपर्ने थियो । तर डीआइजी जानुपर्ने कार्यक्रममा हैसियत नै भुलेर जान खोजेपछि सरकारले आइजीपी खनालको भ्रमण रद्द गरेको छ ।

सर्वेन्द्र खनाल र हरि पाल

गृहमन्त्रालयले उनको स्थानमा डिआईजी सूर्य उपाध्यायलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको छ । गृहमन्त्रीसहितको भ्रमणमा केही सातापछि नै अवकाश प्राप्त गर्न लागेका आईजीपीलाई लैजानु राम्रो नहुने भन्दै सरकारले डीआइजीलाई पठाउने निर्णय गरेको छ । आइजीपीले डीआइजी जाने कोटामा आफ्नो नाम राखेर पठाएपछि गृहमन्त्री थापा र सचिव प्रेमकुमार राई नै उनीसँग नकारात्मक भएका थिए । यसअघि सरकारले आइजीपी खनालको अमेरिका र भारत भ्रमणको प्रस्ताव समेत अस्वीकृत गरिदिएको थियो । चीन भ्रमण समेत अस्वीकृत गरी आइजीपी खनाललाई हैसियत विहीन बनाइएको छ ।

डीआइजी उपाध्याय केही दिनअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । उनीभन्दा जुुनियर डीआइजी विश्वराज पोखरेललाई महानगरीय आयुक्त कार्यालयको आयुक्तमा सरुवा गरेपछि उनी बिदामा बसेका थिए । आफूभन्दा कनिष्ट डीआइजी पोखरेल महानगरीय आयुक्त कार्यालयमा आएपछि चेन अफ कमाण्डमै समस्या हुने भएपछि उनी बिदा बसेका थिए । आइजीपीले कनिष्टलाई महानगरीय आयुक्त बनाएर अपमान गरेका तिनै डीआइजी उपाध्यायलाई सरकारले उनको नाम रद्द गरी चीन भ्रमणमा पठाउने निर्णय गरेको छ ।

आइजीपी खनालले आफ्नो नाम अस्वीकृत भएपछि डीआइजी हरि पालको नाम चीन भ्रमणका लागि सिफारिस गरेका थिए । तर उनको सिफारिस पनि अस्वीकृत गरी डीआइजी उपाध्यायको नाम भ्रमणदलमा समावेश गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्