काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भइ गिरोहको हातमा गइसकेको अवस्थामा ठूलो परिणाममा अवैध सुन बरामद गरिएपछि एकपटक फेरि सुनकाण्डले चर्चा पाएको छ ।
बुधबार करिब एक क्विटल अर्थात एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । जोख्ने क्रममा रहेकाले बरामद सुनको यकिन तौल थाहा नभए पनि अनुमानित एक सय किलो रहेको बताइएको छ । उक्त बरामद सुन जोख्न राजश्व विभागले बिहीबार नै राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइसकेको छ ।
महाहाखाले सुनको यकिन परिणाम आउन एकहप्ता लाग्न सक्ने बताएको छ । तौल यकिन नभए पनि एकै पटक यति ठूलो परिणाममा पहिलो पटक बरामद भएको बताइँदैछ । तर, यसअघि पनि एकैसाथ एक क्विटल अवैध सुन बरामद गरिएको इतिहास छ ।
०५४ मंसिर २९ गते एक सय किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियाली नागरिक जो कुन ह्वा र युन सोङ समातिएका थिए । त्यतिखेर उक्त सुनकाण्डलाई एकैसाथ ठूलो परिणाममा सुन बरामद भएको पहिलो घटनाको रुपमा लिइएको थियो ।
नेपालमा सुन तस्करीको एतिहास पञ्चायतकालदेखि नै जोडिएको छ । तत्कालीन राजा महेन्द्रले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाएका थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारमा कर्मचारीहरु नै तेस्रो मुलुकबाट सुन नेपाल ल्याएर भारत पुर्याउने काममा संलग्न गराएको आरोप लागेको थियो । त्यसयता थुप्रै राजनीतिक परिवर्तन भइसकेको छ । तर, सुन तस्करी रोकिएको छैन ।
प्रत्येक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न नाकाबाट ठूलो परिणाममा अवैध सुन बरामद हुँदै आएको छ । तस्करहरुले तस्करीका पनि नयाँ नयाँ शैली अपनाउन थालेका छन् । त्यो पछिल्लो दुई घटनाले पनि पुष्टि हुन्छ ।
केही दिनअघि मात्र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा पास गराइएको तथ्य बाहिरिएको थियो । ०७९ पुस १० मा चीनबाट आएको ७३० थान ‘भेप’भित्र फिट गरेर तस्करले सुन ल्याएका थिए । तर, भेपले भरिएको दुई वटा सुटकेशमा सुन रहेको तथ्य पत्ता लगाउन करिब ५ महिना लागेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काले सो सुन पास गराएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार (भेप)मा १९ किलो सुन लुकाएको खुलेको थियो । उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा खड्कासहित ४ जना हाल सीआईबीको हिरासतमा छन् ।
यसरी ‘भेप’ सुनकाण्ड सेलाउन नपाउँदै मोटरसाइकल र स्कुटीको ‘ब्रेक शु’को नाममा तस्करले ठूलो परिणाममा सुन भित्राइसकेको अवस्थामा राजश्व विभागले बरामद गरेको हो ।
यस सुन प्रकरणमा भन्सार कर्मचारीकै मिलेमतो रहेको प्रष्ट भइसकेको छ । वैदेशिक रोगजारीबाट फर्किने नेपाली कामदारले ल्याउने एउटा मोवाइलमा समेत आँखा लगाउने भन्सारका कर्मचारी यस पटक क्विन्टल सुन नै पत्ता पाएनन् । यस घटना सर्वसाधारण समेत चकित परेका छन् । यस सुन प्रकरणमा भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेको छ ।
साढे ३३ किलो
करिब ५ वर्षअघि साढे ३३ किलो सुनकाण्डले खुबै चर्चा पाएको थियो । ०७५ को उक्त सुनकाण्डमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत भएको थियो । साढे ३३ किलो सुनकाण्ड र शाक्य हत्या आरोपमा प्रहरीले त्यतिखेर ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको थियो ।
सुन तस्करी एवं कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दामा मुद्दा तर्दा हुँदा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई मानिएको थियो । जुन प्रकरणमा बहालवाला प्रहरी अधिकारीलाई समेत प्रतिवादी बनाइएको थियो ।
करिब एक दशकमा भएको सुन तस्करीका घटनाले पनि नेपालमा सुन तस्करी जोलो ठूलै रहेको प्रष्ट हुन्छ । २०७१ देखि ०७८ सम्म करिब साढे ६ सय केजीभन्दा बढी सुन बरामद भएको छ । र, त्यसयता ०७८ देखि ०८० सम्म आइुप्ग्दा सुन तस्करी झनै फस्टाएको छ । पछिल्लो तीन वर्षमा वार्षिक ८० देखि एक सय २० केजीसम्म अवैध सुन बरामद हुँदै आएको छ ।
बुधबार राजस्व अनुसन्धान विभागले हङकङ हुँदै ल्याइएको करिब एक क्वन्टिल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास गरिएका सामानभित्र लुकाएको अवस्थामा बरामद गरेपछि सुन तस्करीले चर्चा पाएको हो ।
उक्त बरामद सुन तस्करीको अनुसन्धान जारी छ । उक्त तस्करीको नेक्सस विगतका गिरोहसँग समेत जोडिएको हुनसक्ने आशंकामा सीआईबीले अनुसन्धान अघि बढाइएको छ ।
यसरी ठूलो मात्रामा भित्रिएको अबैध सुन नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुक पठाइने गरिएको प्रहरीको आशंका छ । जतिखेर नेपाल–चीन सीमामा ठूलो परिणाम अवैध सुन बरामद भयो, त्यसयता यस्तो आशंका गरिएको हो ।
८८ केजी सुनकाण्ड
२०७४ भदौ १९ गते प्रहरीले रसुवागढी नाका हुँदै काठमाडौं ल्याइएको ८८ केजी सुन बरामद गरेको थियो । उक्त सुनकाण्डमा सुन कारोबारमै संलग्न काठमाडौंका केही व्यापारीसमेत पक्राउ परेका थिए ।
काठमाडौं क्षेत्रपाटीबाट भीआईपी लेखिएको जिपबाट बरामद गरिएको ८८ किलो सुनका गिरोहलाई समात्न प्रहरी सफल भएको थियो । चीनको केरुङ नाका हुँदै अवैध रुपमा सुन नेपाल भित्रिएको त्यो पहिलो घटना थिएन । त्यसअघि सोही नाकाबाट नेपाल भित्रिएको १५ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको थियो ।
२०७३ पुस १३ गते रसुवाको टिमुरेबाट तस्करी गरी ल्याइएको सुन प्रहरीले बरामद गरेको थियो । त्यस समय प्रहरीले ७ किलो सुनसहित कुन्साङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने १० माघ ०७३ मै एक सय १७ दशमलव ३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमला पक्राउ परेका थिए ।
सुरुवाती दिनमा अवैध निकासी÷पैठारीमा संलग्न गिरोहले रक्तचन्दन र आखेटोपहारको ओसारपसारमा रसुवागढी नाकाको प्रयोग गर्दै आएका थिए । तर, २०७१ यता भने चीनबाट नेपाल हुँदै सुन भारत पु¥याउने मुख्य बाटो बनेको छ ।
सुन तस्करीको इतिहास
नेपालमा सुन तस्करीको एतिहास पञ्चायतकालदेखि नै जोडिएको छ । तत्कालीन राजा महेन्द्रले मनाङका बासिन्दालाई व्यापारिक काममा अगाडि बढाएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उनीहरुलाई तेस्रो मुलुकबाट सुन नेपाल ल्याई भारत पुर्याउने काममा संलग्न गराए । त्यसयता थुप्रै राजनीतिक परिवर्तन भयो । तर, सुन तस्करी अझै रोकिएको छैन ।
२०४२ फागुन २३ गते तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा तीन किलो सुनसहित समातिएका थिए । ०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परेका थिए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि मन्त्री र नेताहरु विभिन्न ठगी, भ्रष्टाचार र तस्करी प्रकरणमा पक्राउ पर्दै आएका छन् । त्यस्तै, पञ्चायतकालमा पनि नेताहरु पक्राउ पर्थे ।
०४६ को राजनीतिक परिवर्तनपछि तस्करीको लाइन झनै खुल्यो । खासगरी ०५१ सालको निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेपछि चरम राजनीतिक अस्थिरता सुरु भएसँगै सुन तस्करीको ग्राफ ह्वात्तै उकालो लागेको प्रहरीको विभिन्न तथ्यांकबाट देखिन्छ ।
२०४६ यता तस्करहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य नाका बनाएको थियो । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकार ढालिएपछि शेरबहादुर देउवा नेतृत्वमा सरकारमा खुमबहादुर खड्का गृहमन्त्री बने । उनकै संरक्षणमा सुन तस्करी मौलाएको थियो ।
१०० किलो सुन बरामद
२०५४ सालमा पहिलोपटक एकैसाथ एक सय किलो सुन बरामद भएको थियो । ०५४ साल मंसिर २९ गते एक सय किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियाली नागरिक जो कुन ह्वा र युन सोङ समातिएका थिए । त्यतिखेर उक्त सुनकाण्ड एकसाथ ठूलो परिणाममा सुन बरामद भएको पहिलो घटना थियो ।
त्यतिखेरको विभिन्न अभिलेखका अनुसार पञ्चायतकालमा नेपालमा सुन ओसार्ने नाका हङकङ मात्र थियो । तर, ०५० सालपछि दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीन पनि तस्करी रुटमा जोडिए । यसरी तस्करी गरिएको सुन नेपालमा सानो परिमाण मात्र खपत हुन्छ । बाँकी सबै भारत पुग्ने अनुमान गरिएको छ ।
यस्तै, २०७७ माघ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । त्यतिखेर कतारबाट आएका सुवास गुरुङ र सुन जिम्मा लिन विमानस्थल पुगेका तनहुँका टकबहादुर गुरुङ डाइपरमा लुकाएर ल्याएको अवस्थामा ३४४ दशमलव ९९ ग्राम सुन बरामद भएको थियो ।
यस्तै, २०७६ कात्तिकमा वीरगञ्जबाट २३ केजी अवैध सुन प्रहरीले बरामद गरेको थियो भने ०७६ मंसिर १२ गते हङकङबाट आएका दुई चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । त्यसरी सुनकाण्डमा पक्राउ पर्ने अधिकांस भरिया रहेका छन् । हालसम्म सुन तस्करीका मुख्य गिरोह पक्राउ परेको उदाहरण छैन ।
पछिल्लो समय सरकारले सुन आयातमा कडाई गरेको छ । यससँगै भन्सारसमेत वृद्धि गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरुले विगतमा विना भन्सार ५० ग्रामसम्म सुन ल्याउन पाउँथे । तर, अहिले १० ग्राम भन्दा धेरै ल्याउन प्रतिबन्ध छ । त्यसैले पनि अवैध सुन ओसार–पसार मौलाएको प्रहरीको अनुमान छ ।
सुनमा बढेको तस्करीतन्त्रलाई कडाई गर्न सक्ने हो भने समग्र देशको अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेछ । तर, अवैध सुन तस्करीमा राज्यको संयन्त्र प्रहरी तथा कर्मचारी कर्मचारीकै संयन्त्र देखिँदै आएको छ । पछिल्लो सुन प्रकरणका दुई घटनामा भन्सारकै कर्मचारीको संलग्नता देखिएको छ । त्यसैले पनि नेपालमा सुन तस्करी नियन्त्रण जटिल समस्याको रुपमा देखापरेको छ ।