अन्त जानै पर्दैन, हाम्रै छिमेकी मुलुक चीन बुझे पुग्छ । सन् १९४९ जनगणतन्त्र चीनको घोषणा हुनुपूर्व नै चीनमा सन् २०१२ मा राजसंस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको थियो ।
डा. सन यात्सेनको नेतृत्वमा रहेको कोमिन्ताङ भनिने नेसनलिष्ट पार्टीको आन्दोलनले १ जनवरी १९१२ मा चिङ राजसंस्थाको अन्त्यको गर्दै गणतन्त्र चीनको स्थापना गरेको हो ।
चीनका राष्ट्रपिता मानिने सन यात्सेन चीनका प्रथम राष्ट्रपति हुन् । कोमिन्ताङ पार्टीभित्रको आन्तरिक किचलो, तरल राजनीतिक अवस्था, जापानको प्रत्यक्ष र परोक्ष घूसपैठ जस्ता कारणका बीचमा १२ मार्च १९२५ मा डा. सन यात्सेनको हत्या भयो । कोमिन्ताङ पार्टीको नेतृत्वमा च्याङ काइसेक पुगे । उनी स्वयंमा अनुदारवादी र जापानी कठपुतली थिए ।
ठूलो जनसंख्या र भूगोल, सामन्तवादी अर्थतन्त्र, जापानको औपनिवेशिक शोषणबाट प्रताडित चिनियाँ जीवनशैलीको गर्भबाट माओत्सेतुङको नेतृत्वमा सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो । सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिको निर्माणका १७ वर्षको बीचमा माओ त्सेतुङले अर्को एक भीषण क्रान्ति सम्पन्न गरेका छन् ।
सन् २०१२ मै गणतन्त्र घोषणा गरिएको चीनमा किन जनताले चाहे जस्तो हुन सकेन् ? च्याङकाई सेकको राष्ट्रवादी सरकार हुँदापनि किन जनताले सुखको स्वास फेर्न सकेनन् ? शब्दमा गणतन्त्र लेख्दैमा जनतालाई केही हुँदैन् भन्ने ताजा इतिहास चीनमा छ ।
जतिसुकै राष्ट्रवादको नारा दिएर अगाडी बढेपनि प्रवृत्तिगत समस्या नहट्दासम्म जनतालाई राजतन्त्र, गणतन्त्र उस्तै उस्तै लाग्नु स्वभाविक हो । र, त कमरेड माओले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टीमा जनता गोलवद्ध हुँदै गए ।
जनवादी क्रान्ति सम्पन्न गर्नुपूर्व चिनियाँ कम्युनिस्ट पार्टीले अधिकांश ग्रामीण जनताको बलमा च्याङकाई सेकको राष्ट्रवादी सरकारलाई पराजित गर्न सफल बनेको थियो । गणतन्त्रको विकल्पका रुपमा चिनियाँ कम्युनिष्ट पार्टी नै हो भन्ने जनतालाई आभाष भएकै कारण चीनमा जनवादी क्रान्ति सफल भएको हो ।
कमरेड माओले सांस्कृतिक क्रान्तिका दौरानमा जसरी बाह्य शक्तिसँग लड्न परेको थियो उत्तिकै आन्तरिक पार्टी जीवनमा पनि भीषण लडाइँ लड्नुपरेको थियो ।
सांस्कृतिक क्रान्तिभन्दा अगाडि स्रोतहरूमाथि नियन्त्रण बढ्दै जाँदा विशेषगरी ग्रामीण इलाकामा कम्युनिस्ट नेताहरू दिनप्रतिदिन भ्रष्ट, स्वेच्छाचारी र असहनशील बन्दै गएका थिए । नेता र साधारण जनताबीचको तनाव बढ्दै थियो । जबकी कम्युनिस्टहरूको जनताको हितभन्दा अन्य छुट्टै राजनीतिक उद्देश्य हुँदैन र कोही पनि पार्टी सदस्यले आफूलाई जनताभन्दा माथि राख्नु हुँदैन भन्ने पार्टीको नीति थियो ।
सांस्कृतिक क्रान्तिको बेला प्रचार गरिएको विषयमा ‘जनताको सेवा गर’ भन्ने माओको लेख नै थियो । तर पनि नेताहरुका जीवनशैलीमा सुधारै देखिएन । कमरेड माओले सांस्कृतिक क्रान्तिमा पार्टीभित्र आलोचना र आत्मालोचनालाई कडाइपूर्वक लागू गर्न खोजे । क्रान्तिकारीहरू सबै समान हुन्छन्, तह र पदले तात्विक फरक पर्दैन, शहर र गाउँका नेतामा विभेद हुनु हुँदैन् भन्ने मान्यता स्थापित गर्दै नेताका देखिने प्रवृत्तिगत समस्यामा कमरेड माओले आमुल परिवर्तन गराउन सफल भएका थिए ।
आज नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्या नै प्रवृत्तिमा देखिन्छ । कमरेड माओभन्दा बढ्ता क्रान्तिकारी हुँ भन्ने तर व्यवहार फिटिक्कै नसुधार्ने प्रवृत्ति यहाँका कम्युनिष्ट पार्टीका नेतामा छ ।
गणतन्त्र स्थापना भएको झण्डै दुई दशक पुग्दा समेत मुलुकमा आशा भन्दा निरासा बढ्नुको कारण नै यही हो । जनतामा यतिसम्म निरासा छाएको छ कि शब्दले व्यक्त गर्ने स्थिति नै छैन् । मुलुकमा झण्डै ६५ प्रतिशत मतदाताले कम्युनिष्ट पार्टीलाई भोट दिदैँ आएका छन् । यस्तो परिस्थितिका बीच पछिल्लो समय पुराना दल (कम्युनिष्ट समेत) र तिनका नेता प्रति जनतामा आक्रोश निरन्तर बढीरहेको छ ।
जनता किन यति साह्रै आक्रोशित छन् ? गणतन्त्रको विकल्पसम्म खोज्नुपर्छ भन्ने आवाज किन उठिरहेको छ ? यसको वस्तुपरक खोज र अनुसन्धान गर्न जरुरी छ । चिनियाँहरुले जसरी गणतन्त्रको विकल्प नै कमरेड माओ हुन भन्ने लाग्यो, नेपालमा पनि त्यसरी नै अर्को दल र नेता खोज्न जनताले थालिसकेका छन् । विडम्वना ! देशका कम्युनिष्ट पार्टीहरु नै जनताको उत्तम विकल्प बन्नुपर्ने हो । तर त्यसो हुने संकेत देखिदैन् ।
व्यवहारमै गहिरो समस्या
सत्यमा टेकेर प्रश्न गरौँ– के हाम्रा चालचलन, रितिरिवाज, शैली र प्रवृत्तिमा कम्युनिष्ट संस्कार र संस्कृति देखिन्छ त ? छैन नि ! विचारका ठूला ठूला भाषणले कार्ल माक्र्स, लेनिन, माओलाई जित्नसम्म पछि नपर्ने हामीहरुमा समस्या सिद्धान्तको होला त ?
भर्खरै सकिएको उपचुनावमा जनताले मतद्धारा गरेको शालिन विद्रोह बुझेका छौँ त ? हामी नयाँ जन्मिएका दल र तिनका नेतालाई आलोचना गर्न मात्र समय खर्चेका छौँ । एकपटक आफ्नो अनुहार ऐनामा हेर्ने कहिल्यै कुचेष्टा गरेनौँ । यो परिवर्तन ल्याउनका लागि हजारौँ जनताले त्याग, तपस्या र बलिदान गरेका छन् । तर, केवल सत्ता र कुर्चीका पुगिपछि सबै भुलिदियौँ ।
तर पनि कम्युनिष्ट, अझ भन्ने हो भने एक्काइसौँ शताब्दीका कार्ल माक्र्स करार गर्न हामी पछि पर्दैनौँ । समस्याको मुल चुरो व्यवहारमै छ । आज नागरिकमा देखिएको वितृष्णा नेता र कार्यकर्ताको भड्किलो कार्यशैली, बुर्जुवा संस्कारनै हो । यो समग्र कम्युनिस्ट आन्दोलनको जटिल समस्या बनेको छ ।
यसका अलवा व्यक्तिवाद र राजकीय सत्ता आन्दोलनलाई थप धरासायी बनाउने साधन बनेको छ । शिक्षा र स्वास्थ्यको निजिकरण फैलिदै छ । यी क्षेत्रमा लगानी गर्ने कम्युनिष्टका नेताहरु नै छन् ।
आवरणमा समाजवादी व्यवस्थाका कुरा गर्ने तर शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरुलाई कम्युनिष्ट नेता मान्न सकिएला ? पक्कै सकिदैन् । बैंक तथा वित्तिय संस्थाको लगानी सुरक्षित हुने तर उद्योग खोल्ने उद्योगी धरासायी बन्ने वातावरण यहाँ छ ।
दशकौ देखि कम्युनिष्टले उठाउँदै आएका राष्ट्रिय पूँजीपति वर्गको उत्थान केवल नारामा मात्र सिमित छ । जुन देशमा घडेरी बेचेर, म्यानवापर खोलेर व्यक्ति धनी हुन्छ, त्यो देशमा कम्युनिष्ट पार्टी छ भन्नु नै आन्दोलन प्रतिको भद्दा मजाक हो । केवल पैसाले पैसा मात्र कमाउने उद्योग–व्यवसाय फष्टाउने मुलुकमा जनताले प्रगति, उन्नती, रोजगारी पाउँछन् भन्ने ठान्नु एकादेशको रामकहानी मात्र हो ।
अहिलेबाट होइन् वि.सं. २०५१ सालदेखि कम्युनिष्ट पार्टीले सत्ताको स्वाद चाख्न पाएको हो । ०५१ मा केही महत्वपूर्ण र दुरगामी काम भएका थिए । पछि बनेका कम्युनिष्ट सरकार संविधान सभाबाट संविधान निर्माणसम्ममा महत्वपूर्ण भूमिका खेले । तर त्यसयता बनेका सरकार केवल भ्रष्ट्रचार संरक्षणको मसिहा बनेर उभिएको देखिन्छ । जसरी पनि सरकारी लाभको पदमा पुग्ने र पैसा कमाउने बाहेक अर्का सिद्धान्त अधिकांश नेता तथा कार्यकर्तामा भेटिदैन् । केवल पार्टी भीँड र हुलको जमात हो भन्ने ठान्नेहरु धेरै छन् । जसरी पनि चुनाव जित्नुनै समग्र विचार बन्न थालेको छ ।
ठूलो पार्टी बन्ने र सत्तामा जसरी पनि पुग्नु नै कम्युनिष्ट पार्टीको असली गन्तव्य बनेकोछ । जननेता मदन भण्डारी भन्ने गर्नुहुन्थ्यो– ‘सिद्धान्त सिद्धान्तका लागि होइन्, व्यवहारका लागि हो । कम्युनिष्ट प्रयोगको सिद्धान्त हो । यो बैज्ञानिक ढंगले प्रयोगमा आउने राजनीतिक सिद्धान्त हो । तर नेपालको सन्दर्भमा त्यो हुन् सकिरहेको छैन् ।
जनताको विकल्प कम्युनिष्ट भन्दा अब अरु नै हुन् थालेका हुन् कि भन्ने बाहिर देखिएका असन्तृष्ट स्वरहरुले पुष्टि गर्न थालेको छ । यो नै आजको गम्भीर समिक्षाको प्रश्न हो । कम्युनिष्ट हुनु आफ्ना लागि भन्दा सामुहिकताका लागि बाँच्ने महान दर्शन हो ।
अर्कोतिर कम्युनिष्ट आन्दोलन नै केवल मुठ्ठीभरका धनाढ्यको कब्जामा पुग्न थालेको छ । अर्को दुखदायी विषय यहाँ छ । पार्टी ठूलो बनाउने नाममा जसरी नवधनाढ्य पार्टीमा भित्त्राइदँैछ, उनीहरुको हालिमुहालीले आन्दोलन थप धरासायी बन्दै छ । एकातिर सिद्धान्त घोक्ने व्यवहारमा नउतार्ने बढिरहेका छन् भने, अर्कातिर धनाढ्यको आगमन तीव्र बनिरहेको छ । इतिहासको गम्भीर संकटमा कम्युनिष्ट आन्दोलन छ ।
अहिलेसम्म झुटले राज गर्दै आएको कम्युनिष्ट पार्टीलाई जनताले झुट नै बुझ्न थालिसकेका छन् । अब त झुटले काम गर्ने स्थिति नै छैन् । आम चुनाव २०७९ र उपचुनाव २०८० बेस्सरी बुझेका नेताहरुले आफ्नो व्यवहार सच्चाउनु जरुरी छ ।
लाएको बानी कहिल्यै नजानी’ होइन् अब आफू भित्रका गलत प्रवृत्ति त्याग्ग गरी कम्युनिष्ट आन्दोलनलाई थप परिस्कृत र जनता गोलबद्ध पार्न आवश्यक छ । यति राम्रो लोकतान्त्रिक व्यवस्था हुर्काउन सकेका छैनौँ । संविधानमै समाजवाद उन्मुख अर्थ व्यवस्था लेखिसकेका छौँ । कागजी पानामा लेखिएका यी शब्दले व्यवहारिक जीवनमा के पो अर्थ राख्छ र । भएको यही हो ।
यो बीचमा तन्नेरी पुस्तामा पनि बढी सत्ताको भोग देखिन्छ । जसरी भएपनि मेयर बनूँ, सांसद बनूँ भन्ने सोचमा यो पुस्ता छ । रातारात भाइरल बनूँ, सबैले मलाई चिनून् भन्ने अच्चमको बुर्जुवा चिन्तन हावी हुँदै छ । यहाँको गरिबी, अभाव, बेरोजगारी, भ्रष्ट्राचारी प्रवृद्धिको बखान भनेरै जनताको मन जित्ने कोशिस भइरहेको छ ।
जनजिविकाका सवाल उठाएरै सेलिब्रेटी बन्ने क्रम चलिरहेको छ । सेलिब्रेटीको दौडमा दौडिएको राजनीति र यसको प्रभावमा परेको कम्युनिष्ट आन्दोलनलाई अब व्यवहारमै बचाऔँ । जब चीनमा माओले जसरी सांस्कृतिक क्रान्ति गरे, उसैगरी यस्तै पार्टी र नेता बनाऔँ ।