काठमाडौं । देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचना समेटिएको छ ।
बैंकिङ क्षेत्रमा लामो समय काम गरेका बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ । झन्डै तीन दशक बैंकिङ क्षेत्रमा काम गरेका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख रचना पुस्तकमा समावेश गरेका छन् ।
बैंकमा कर्मचारीलाई बिक्री लक्ष्यको भारी बोकाउने गरिएको हुन्छ र यसका क्षेत्रभित्र अस्वस्थ प्रतिस्पर्धा हुने समेत भनिएको छ । यसरी लक्ष्य दिँदाका फाइदा र बेफाइदा के हुन् ? पारिश्रमिक दिनेगरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण के हो ? बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुँदाको प्रभाव के कस्तो हुन्छ ? यी विषयहरु पनि सो पुस्तकमा समावेश छन् ।
त्यस्तै, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् । पूर्वबैंकर सशिन जोशीले पुस्तकको भूमिकामा वीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ क्षेत्रको एक ज्ञानबद्र्धक खजाना हुने बताए ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिकरुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकका लागि पुस्तक उपयोगी रहेको जोशीको भनाइ छ ।
लेखक घर्तीले सो पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने विश्वास व्यक्त गर्छन् । पुस्तकमा व्यवस्थापन संकायका विद्यार्थीका लागि पनि पाठ्यसामग्री समेटिएको छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन सङ्कायका प्राध्यापक प्रा डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन पुस्तक सहयोगी हुने बताए ।
पुस्तकबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले लेखक घर्ती आफैँ बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेको अनुभव भएको व्यक्ति भएकाले उनका अनुभव, अनुसन्धान र बैंकिङ सिकाइ उपयोगी हुने बताए । बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (विआइएम) द्वारा प्रकाशित पुस्तकमा चार सय ४४ पृष्ठ छ ।