काठमाडौं । कीर्तिपुरका उदयमान १४ वर्षीय गायक एरोन महर्जनको ‘सुस्तरी’ बोलको गीत सार्वजनिक भएको छ । विभिन्न पुरस्कार समारोहमा अवार्ड विजेता बालगायक एरोनको म्युजिक भिडियोको बागमती प्रदेशका पर्यटन, संस्कृति, तथा सहकारीमन्त्री पुकार महर्जनले सार्वजनिक गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी मन्त्री महर्जनले ‘सुस्तरी’ गीतको म्युजिक भिडियोको प्रशंसा गर्दै यस्ता भिडियोहरुमा देशको कला संस्कृति र सांस्कृतिक पक्षलाई कथावस्तुमा उनेर बनाउनुपर्ने राय व्यक्त गरेका थिए । उनले त्यस्ता म्युजिक भिडियो र फिल्मलाई प्रदेश सरकार सहयोग गर्न तयार पनि बताए ।
उक्त गीतको भिडियोलाई गायक एरोन महर्जनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा टीनएज लभको कथावस्तुलाई चित्रण गरिएको छ ।
गायक एरोनकी आमा राज्यलक्ष्मी महर्जनको कन्सेप्टमा तयार गरिएको भिडियोमा भिडियोमा गायक एरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन् । लूमिला पनि सांगीतिक परिवारसँगै सम्वन्धित कलाकार हुन् । लूमिला स्व. गायक द्वारिकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी छोरी हुन् ।
उक्त गीतमा शब्द र संगीत भुवन महर्जनको रहेको छ । अन्नु महर्जनको कोरीयोग्राफी रहेको भिडियोलाई छायांकन दिनेश महर्जनले गरेका हुन् । भिडियोमा दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गरेका छन् । निर्देशक शाक्यले यसअघि विभिन्न शर्टफिल्महरु बनाइसकेका छन् ।