Logo
Logo

आशावादको सिराबाट नयाँ क्षितिजको उजागर गर्नुपर्छ


2.8k
Shares

आशावाद एउटा ऊर्जा हो । आशाबिनाको राजनीति कल्पनासमेत गर्न सकिन्न । आशाले नयाँ क्षितिज खोल्ने काम गर्छ भने निराशाले अन्धकार निम्त्याउँछ । आशावादीहरू प्रगतिशील मान्छे हुन् भने निराशावादीहरू यथास्थितिवादी ।

आज चिया पसल होस् कि सार्वजनिक स्थानमा, यो देश नेताले बिगारे, नयाँ पुराना नेता सबै भ्रष्ट, चोर, यो देशमा इमान्दार केही छैन । गरिखाने अवस्था छैन । यस्तै गुनासा, निराशा र कुण्ठाहरु सुन्न पाइन्छ । यो अवस्था किन आयो ? मन्थन जरुरी छ ।

इतिहासका विभिन्न कालखण्डमा नयाँ आशावादको जन्म भएको छ । वि.सं. १९९० को दशकदेखि सुरु भएको लोकतान्त्रिक आन्दोलन नै नेपाली राजनीतिकको पहिलो आशावाद हो । जसको परिणाम २००७ सालको राणाविरोधी आन्दोलनले नयाँ आशावाद जन्मायो । १०४ वर्षे राणा शासनको चरम शोषण, दमन, अन्याय, र अत्याचारका विरुद्ध नेपाली कांग्रेस र कम्युनिष्टहरुले संर्घष गरे ।

तत्कालीन समयमा विपी, पुष्पलालहरुको पुस्ताले लोकतन्त्र, गणतन्त्र र संविधानसभाको पक्षमा आवाज उठाएवापत जेलनेलदेखि देश छाड्नुपर्ने अवस्था आयो । तर, त्यसबेला समयमा जेलनेल, निर्वासनको अवस्थामा पनि लोकतान्त्रिक आन्दोलन भने अवरुद्ध भएन । २०४६ सालसम्म आउँदा कृष्णप्रसाद, गणेशमान, मनमोहनजस्ता नेताहरुले निर्णायक आन्दोलन गरे । राज्यसत्ताको सर्वाधिकार जनताको हातमा ल्याउने प्रयास भयो ।

संविधानअनुसार राजा चल्ने कानुन निर्माण भएपछि पहिचानाको विभेदमा पिल्सिएकाहरु केही हद खुसी पनि भए । तर, त्यो खुसीको आयु अत्यन्तै छोटो रह्यो । २०४७ सालको संविधान घोषणा भएको एकाध वर्ष (२०५२) मै प्रचण्ड—बाबुरामहरुले जनयुद्धको घोषणा गरे ।

१० वर्षको अवधिमा राज्यले ठूलो जनधनको क्षति बेहोर्नुपर्याे । अर्कातर्फ त्यस जनयुद्धकै जगमा दोस्रो जनआन्दोलन सम्पन्न भयो । करिब सात दशकको ठूलो संघर्षपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो । यहाँसम्म आइपुग्दा नेपालमा कसैले पनि नसोचेका ऐतिहासिक आन्दोलनहरु सम्पन्न भए ।

अर्को भाषामा भन्दा नेपालमा जनवादी क्रान्ति एक तहसम्म आएर सम्पन्न भयो । पुरानो राज्यसत्ताका केही अवयवहरु बाँकी रहे पनि सतहबाट पुरानो राज्यसत्ता ढल्यो । बिडम्बना, जनवादी क्रान्ति सम्पन्न भएपछि अंगाल्नुपर्ने अर्थराजनीतिक व्यवस्थाको पहिचान गर्न नसकेपछि स्थापित राजनीतिक दलहरुको योग्यता र योग्दानमाथि प्रश्न जन्मिने अवस्था आयो ।

खासगरी जनयुद्धको राप र तापबाट आएको माओवादीले घमण्ड देखायो । उसलाई जनताले अभूतपूर्व जनमत दिएर संविधानसभामा पठाए । तर, माओवादीहरुले धैर्यताका साथ जनतालाई धन्यवाद दिएर राज्यसत्तालाई जनवादी सत्ताका रुपमा विकास गर्नुको साटो घमण्ड प्रदर्शन गरेपछि नयाँ आशा र अपेक्षाको हत्या भयो ।

इतिहासको एक कालखण्डमा जनयुद्ध सम्पन्न गरेको माओवादीले मुलुकलाई थप गति दिन सकेन । बरु, माओवादी नेतृत्व, नेता र कार्यकर्ता भ्रष्ट र अवसरवादी बने । विगतको वर्ग संघर्षलाई भुले । माथि भनिएझैँ सामान्तवादका अवषेशहरुको समूल नष्ट गर्नुको साटो उल्टै राजामहाराजाका शैलीमा जीवन अपनाउन पुगे ।

कांग्रेस र एमालेलाई बिग्रेका भन्ने माओवादीहरु कांग्रेस–एमालेभन्दा बढी बिग्रिए । जनताको नजरमा टिक्न सेकनन् । २०७० को चुनावमा तेस्रो स्थानमा झरेको माओवादी राजनीतिक, अराजनीतिक, अप्राकृतिक जेसुकै भए पनि गठजोडमा लाग्यो र २०७९ को चुनावसम्म आइपुग्दा ३२ सिटमा खुम्चिन पुग्यो ।

यसबीचमा माओवादी केन्द्र र एमाले मिलेर नेकपा (नेकपा) बन्यो । जनताले त्यो नेकपालाई अनुमोदनसमेत गरे । तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को शक्ति संघर्षको ओख्लोमा नुन खुर्सानी पिसिएझैँ नेकपा पिसियो । त्यतिमात्रै भएन, एमाले पार्टीसमेत विभाजन भयो । नेकपाका नाममा जन्मेको आशावाद मुस्किलले तीन वर्षमात्रै टिक्यो ।

सत्य के हो भने, पुराना नेताहरुले आफ्नो जीवनलाई दाउमा राखेर लोकतन्त्र, गणतन्त्र, संघीयता, परिवर्तन ल्याएका हुन् । जनतालाई सूचित र सेचत पार्दै राणा र शाहीतन्त्रकालीन ती कालरात्रिमा नेताहरूले सामान्य संघर्ष गरेका थिएनन् । आजको पुस्ताले त्यो राजनीतिक संघर्षलाई महसुस मात्र पनि गर्न सकेको छैन ।

युवापुस्ताले आजको व्यवस्था र अवस्था सित्तैमा आएको बक्सिस सम्झेका छन् । यस्तो खाले सतही बुझाई नयाँ पुस्ताको भयंकर कमजोरी हो । यता पुरानो नेतृत्वले सत्तालाई स्थायी लाभको पद सम्झे । आफूबाहेकलाई नजान्ने सम्झ्यो । विचारको उत्पादन र पुनरोत्पादन भएन ।

नेतृत्व हस्तान्तरण, रूपान्तरण र पुस्तान्तरणमा पुरानो नेतृत्व नराम्रोसँग चुक्यो । देशमा भ्रष्टाचार बढ्यो । जनतामा निराशा र असन्तुष्टि पैदा भए । यतिमात्र भएन, समाजवादी संविधानमाथि हमला सुरु भयो । चौतर्फी नेतालाई गाली गर्नेहरुको संख्या बढ्यो । नयाँ पुस्ता र पुरानो पुस्ता भन्ने भाष्य सहतमा आयो । पुराना चोर, खत्तम, भ्रष्ट, लोभी, पापी, दलाल, यस्तै… गालीका वर्षा सुरु भए ।

यस्तै स्थितिका बीच नयाँ दलहरु आइपुगेका छन् । उनीहरुको जन्म, हुर्काई र बढाईलाई हेर्दा प्राकृतिक देखिँदैनन् । पुराना दल खराब हामी असल भनेर आएका दर्शन बिनाका दलहरुको हुँकार कम भने छैन । तर, जनतामा नयाँ आशा सञ्चार भएको चाहिँ सत्य हो ।

ठूलो संघर्ष र बलिदानबाट आएका प्रचण्डहरुले गति दिन नसक्दा देश हामी चलाउँछौँ भन्दै आएका रविहरुप्रति जनताले आशा गरेका छन् । उनीहरुले एक वर्षभित्र हासिल गरेको संसदीय सफलता ऐतिहासिक छ । तर, उनीहरुले बजारमा जे जस्ता कार्यहरु गरिरहेका छन्, ती कार्य हेर्दा पुरानाभन्दा नयाँ पुस्ता झन् खराब देखिन्छन् ।

विचार, सिद्धान्त केही नभन्ने तर, काम गर्ने भनेर आएका लामिछानेहरुले युवापुस्ता जनताको पक्षमा अडान देखिएको छैन । प्रचण्ड नेतृत्वको गठबन्धनको सरकारले शून्य सहनशीलताको अभियानलाई तीव्र पारेको बेला विश्वासको मत फिर्ता लिनुलाई राम्रो काम गरेको भन्न सकिँदैन ।

मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनाउन खोज्दा संसद् अवरुद्ध गर्न एमालेसँगै रास्वपा उभिनुलाई काम गरेको भन्न सकिँदैन । सार्वजनिक खपतकै लागि अन्टसन्ट बोल्ने, स्टन्ट गर्ने, फण्डा चलाउनुलाई काम गरेको मान्न सकिन्न ।

विरोधका नाममा विरोध गर्ने एमालेको वैशाखी बनेर रविहरुले ठूलो भूल गरेका छन् । नागरिकता, पासर्पोट जस्तो प्रकरणमा मुछिएका रवीहरुलाई पुरानाभन्दा नैतिक देख्ने दृष्टिमाथि शंका गर्नुपर्ने हुन्छ । रविहरुको सत्ता आरोहरण र बार्दलीको भोक अनौठो मात्र छैन, अराजनीतिक र अराजक पनि उत्तिकै छ ।

अन्त्यमा, वर्तमान सरकारबाट जनताले केही आशा गरेका छन् । सरकार र सरकारमा रहेका राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर वतर्मान समयमा देखिएका समस्यालाई हल गर्नुपर्छ । खासगरी किसानलाई समयमै मल, बीउ, दानापानीको व्यवस्था गर्नुपर्छ ।

स्थानीय उत्पादनको बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ । त्यस्तै विदेशमा रहेको युवा शक्तिलाई फिर्ता गर्ने तत्कालिक र दिर्घकालिन कार्ययोजना तय गरिनुपर्छ । यि दुई कार्य गर्न जति ढिलो, मुलुक त्यति नै थिलो बन्छ ।

आफ्ना र पराया नभनेर सरकारले भ्रष्टाचारका फाइल खोल्ने र कारबाही गर्ने कार्यलाई तीव्र पार्नुपर्छ । जनताले आफ्नो कर्तव्यलाई इमान्दारीताका साथ पालना गर्नुपर्छ र राष्ट्र निर्माणमा सक्रिय बनाउनुपर्छ । निराशा होइन, आशावादको सिराबाट नयाँ क्षितिजको उजागर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्