Logo
Logo

‘सिद्धबाबा’ भनिने गिरीको बयान सुरु, पक्ष-विपक्षमा प्रदर्शन


- दृष्टि न्युज/संवाददाता

0
Shares

इनरुवा, १२ पुस । जबरजस्ती करणी मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम सुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान सुरु भएको हो ।
सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया सुरु भएको हो ।
सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।


अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।
अभियोग प्रमाणित भए उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३(ङ) अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।
सिद्धबाबामाथि अदालती प्रक्रिया शुरु भएसँगै समर्थक र विरोधीहरूले शुक्रबार जिल्ला अदालत सुनसरी अगाडि प्रदर्शन गरेका छन् । अनुयायी महिलामाथि बलात्कारको मुद्दा खेपिरहेका उहाँको अदालती प्रक्रिया शुरु भएसँगै उहाँका समर्थक र विरोधीबीच जिल्ला अदालत सुनसरी अगाडि विरोध प्रदर्शन भएको हो ।
स्वतःस्र्फूतरूपमा सयौँको संख्यामा आएका महिला अधिकारकर्मीसहितका महिलाहरुले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि सिद्धबाबामाथि कारबाहीको माग गरेका हुन् । उनीहरुले सिद्धबाबालाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, ढोँगी बाबा चाहिँदैनलगायतका नारा लगाएका थिए ।
यता सिद्धबाबाका समर्थकहरुले अदालतअगाडि भेला भएर उनको जय जयकार गर्नुका साथै भजन कीर्तन र हनुमान चालिसालगायतका पाठ गर्दै रिहाइको कामना गरेका छन् ।
थुनछेक बहसका लागि न्यायाधीशहरु बीचमा गोला हानिएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया अघि बढेको हो । उनको मुद्दा गोला प्रथामार्फत सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको छ ।
यसैबीच सिद्धबाबाको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई अदालत परिसर छिर्न रोक लगाइएको छ । सिद्धबाबाको विषयमा समाचार संकलनका लागि गएका सुनसरीका पत्रकारहरुलाई मूलगेटबाट भित्र प्रवेशमा रोक लगाइएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्