काठमाडौं । मिटरब्याज पीडितको समस्या समाधान गर्न यतिबेला सरकारले उच्चस्तरीय आयोग नै गठन गरि काम गरिरहेको छ । तर, पहुँचवाला मिटरब्याजीलाई भने यसले छुन सकेको छैन । मुख्य मिटरब्याजीहरु प्रहरीकै संरक्षणमा छन् ।
प्रहरी कार्यालयमा यसका प्रशस्त उदारण भेटिन्छन् । प्रहरीका कतिपय अधिकृतको ध्यान नै मिटरब्याजको पैसा उठाइदिनेमा केन्द्रीत छ । जिल्ला प्रहरी परिसर टेकुका डिएसपी श्रीराम भण्डारी त्यसमध्ये एक हुन् । परिसरमा चेक बाउन्ससम्बन्धि दैनिक ३० वटा जाहेरी दर्ता हुन्छन् ।
त्यसमध्ये ठूला बिगो भएका व्यक्तिको मुद्दामा मात्र प्रहरी अधिकारी अनुसन्धानमा केन्द्रीत हुन्छन् । थोरै बिगोको चेक भएकाहरु सामान्यतया निम्न वर्गका हुन्छन् । थोरै पैसा ठगिएपनि त्यो उनीहरुको लागि ठूलो हुन्छ । त्यसमा प्रहरीलाई मलतब हुँदैन ।
धेरै बिगो भएका मुद्दाहरु धेरैजसो चेक बाउन्ससम्बन्धि हुन्छ । त्यस्ता मुद्दामा प्रहरीले पनि मोटो कमिसन पाउँछ । सोही कारण यो शाखाका डिएसपी भण्डारी लगायत प्रहरीको ध्यान यसैमा केन्द्रीत हुन्छ ।
मिटरब्याजका पैसा उठाउन सम्बन्धित व्यक्तिका आफन्तलाई समेत धम्काउने गरिएको छ । गत साता त्यस्तै दृश्य परिसरमा देखियो । बागबजारको नेपाल सहकारीले एक व्यक्तिलाई मिटरब्याजमा एक करोड रुपैयाँ भन्दा धेरै लगानी गरेको थियो । सहकारीले बिना धितो त्यसरी पैसा लगानी गर्नै पाइन्न ।
उच्च ब्याजको प्रलोभनमा त्यसरी लगानी गरिएको थियो । सम्बन्धित व्यक्ति चर्काे ब्याज तिर्न नसकी पलायन भए । त्यसपछि सहकारीले ती व्यापारीका परिवार तथा आफन्तलाई बोलाई सो पैसा तिर्न नसके थुनिदिने भन्दै धम्काएका थिए । एक प्रहरी अधिकारीका अनुसार परिसरमा यस्तो घटना दैनिक हुन्छ । चेक बाउन्स शाखामा कार्यरत प्रहरीले मिटरब्याजीको पैसा उठाएर आफुहरु समेत करोडपति बनिसकेका छन् ।
भक्तपुरमा पनि यस्तै अवस्था छ । भक्तपुर प्रहरीले मिटरब्याजको पैसा उठाउन हाल एक गाडी नियन्त्रणमा राखेको छ । साथीको गाडी धरौटी राखेर एक व्यक्तिले १४ लाख ऋण लिएका थिए । तर, त्यसको दोब्बरको चेक दिएका थिए । वास्तविक धनीको निवेदनका आधारमा प्रहरीले गाडी नियन्त्रणमा लियो तर पैसा तिर्न असम्बन्धित व्यक्तिलाई दबाब दिदै यसरी गाडीमा कब्जामा राखेको छ ।
यी घटनाले मिटरब्याजको धन्दासँग प्रहरी अधिकारी कसरी जोडिएका छन् भन्ने प्रष्ट हुन्छ । प्रहरीको अहिलेको मुख्य कमाईको स्रोत नै मिटरब्याज भएको स्रोत बताउँछ । कतिपय प्रहरीले त आफैं मिटरब्याजमा लगानी गरेका छन् । त्यसकारण त्यस्ता मिटरब्याजीको पैसा उठाउन उनीहरु आफैं सक्रिय हुने गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले समाचार प्रकाशित भएपछि दृष्टि न्युजलाई ध्यानाकर्षण पत्र लेख्दै पीडित र पीडकबीच मुद्दा मालिा नगरी मिल्न खोजेकाले बैंकिङ कसूर चेक बाउन्सको कानुनी कारबाहीको व्यवस्थाबारे जानकारी गराउन मात्र फोन सम्पर्क गरिएको र प्रहरी गैरकानुनी कार्यमा संलग्न नरहेको स्पष्ट पारेको छ ।