रुपन्देही । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका विश्वासपात्र मानिएका प्रहरीहरु यतिबेला तस्करीको सेटिङमा लागेका छन् ।
एसपी विक भने आफू कानुनविपरीत हुने अनुचित लाभविरुद्ध शून्य सहनशीलता लिएको दाबी गर्दै आएका छन् । तर उनका विश्वासपात्रको रुपमा चिनिएका प्रहरी नायव निरीक्षक लक्ष्मण डाँगी लामो समय जिल्लाको ठाडो उजुरीमा बसेर हालै प्रहरी चौकी धगधई गएका छन् ।
ठाडो उजुुरीमा अनुुचित लेनदेनमा सहभागी भएको भनेर पटक–पटक गुनासो आउँदासमेत त्यसको बेवास्ता गर्दै एसपीकै चाहानामा उनलाई तस्करी खुलाउन लागि धगधई पठाइएको यहाँको प्रहरी बृत्तमा चर्चा छ ।
उनको एसपीसँग सल्यानदेखि नै सम्बन्ध भएको बताइन्छ । उनले अहिले धगधई क्षेत्रबाट कुुखुरा, चिनी, हार्डवेयर, मोबाइलको व्यापक तस्करी गराएको आरोप छ । विगतदेखि विवादित डाँगी अहीले बढुवाको सफारिसमा समेत परेका छन् ।
उनले विभिन्न तस्करहरुबाट मासिक बुझेर लाइन खुलाएको बताइन्छ । त्यस्तै एसपीकै बर्डीगार्ड हवल्दार कमल थापा पनि तस्करीको सेटिङमा लागेका छन् । सुनसरी दरबन्दी भएका उनी लामो समयदेखि रुपन्देहीमा काजमा छन् ।
पछिल्लो समय उनले क्यासिनो र तस्करहरुसँग एसपीको नाममा लाइन लिने गरेका छन् । उनीसहित असइ पवन जिसी, जवान वीरेन्द्र आरसीले कुखुरा, गल्ला, खसीबोकाका तस्करहरुबाट लाइन उठाउँदै आएका छन् । भैरहवाका पाँचवटा क्यासिनोबाट मासिक तीन लाखको दरले असुल गर्ने गरेका छन् ।
जिसीको पाल्पा र आरसीको काठमाडौँ दरबन्दी हो । तर, नेतृत्वलाई प्रभावमा पार्दै उनीहरु यहाँ असुली धन्दामा व्यस्त छन् ।
जिल्लामा हुने अपराधको अनुुसन्धान गर्ने, आरोपी पक्राउ गर्ने जिम्मेवारीमा रहेका उनको हिमचिम भने अवैध कारोवार गर्ने व्यापारीहरुसँग छ । जसका कारण पछिल्लो समय रुपन्देहीमा तस्करी मौलाएको छ ।
भारतीय बजारबाट सामान खरिद गरी नेपाल ल्याउँदा एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने निमयमा कडाइ गरिएको छ । जसले गर्दा उपभोक्ताहरु सीमावर्ती भारतीय बजार सुनौली, नौतनहवामा घरायसी प्रयोजनाका लागि समेत सामान किन्न जान छाडेका छन् ।
यसले गर्दा नेपाली बजारमा भारतीय सामानको माग उच्च रहेको छ । यसैको फाइदा उठाउँदै जिल्लाका धगधई, बगाहा, मेउडिहवा, नेउडिहवा, कालीदह, मर्यादपुर, कक्रहवा लगायतका नाकाहरुबाट कपडा, हार्डवेयर, चिनी, सुर्ती, मोबाइल, खाद्यान्नलगायतका सामानको व्यापक तस्करी भइरहेको छ ।