काठमाडौँ । पूर्वविद्युत इन्जिनियर एवं साहित्यकार मोहनबहादुर कायस्थको ८४औं पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ लोकार्पण गरिएको छ ।
सिर्जना अभियान समाज, भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्व भएको उक्त लोकार्पण समारोहमा साहित्यकार ध्रुव मधिकर्मीले स्वागत मन्तव्य राखेका थिए ।
साहित्यकार डा. विष्णु भण्डारी, वरिष्ठ साहित्यकार तिलक प्रकाश कायस्थ, तथ्याङ्क विभागका पूर्व महानिर्देशक उत्तम नारायण मल्लले मोहन बहादुर कायस्थको लेखकीय क्षमता, भक्तपुर र बन्दीपुरबीचको सम्बन्ध एवं लोकार्पित पुस्तकमाथि प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा लेखक मोहनबहादुर कायस्थले आफू चालीसको उमेरदेखि लेख्न, प्रकाशन गर्न थालेर अहिले ८० वर्षको उमेरमा यो सहित ८४ वटा आफ्नै पहलमा प्रकाशन ल्याइसकेको बताए ।
आफ्नो विद्वता र सिर्जना प्रकाशकको मुख नताकेर आफ्नै पहलमा भए पनि प्रकाशन गर्दै जानुपर्ने भन्ने धारणा राखेका कायस्थले अब चाहिँ उमेरका कारण यही पुस्तक अन्तिम भएको घोषणा पनि गरे ।
तर अन्य वक्ताहरूले त्यसो गर्न नहुने र मोहन बहादुर कायस्थको लेखकीय स्वभाव अनुसार उनले बिट मार्न नसक्ने धारणा व्यक्त गरे ।
केही कविता, केही लघुकथा सहित आफ्ना संस्मरणहरूका साथै करिब एक दर्जन सर्जकहरूले मोहन बहादुर कायस्थको व्यक्तित्व माथि लेखिएको लेखहरू यसमा समेटिएको छ ।