राज्यबाट तामाङहरू कति पेलिए, यसको इतिहास लामो छ । इतिहास पढ्दा यस्तो लाग्छ, राज्यले नेपालका आदिवासीहरूमध्ये तामाङलाई जति अरूलाई दमन गरेको छैन ।
काठमाडौं उपत्यकालाई वरपरी आवाद रहेका तामाङहरू नेपालका प्राचीन आदिवासीमध्येका एक हुन् । उनीहरूले आफ्नो थर तामाङ लेख्न पनि नपाउने अवस्था थियो, कुनै बेला ।
पहिले सुसारेका रूपमा दरबार पसेकी खोटाङ, नारङ्गाकी दिलकुमारी ब्लोनलाई विवाह गरी सीता नाम राखेर बडामहारानी घोषणा गरिसकेपछि तत्कालीन श्री ३ महाराज भीमशमशेरले एक इस्तिहार नै जारी गरेर तामाङ थर लेख्न पाउने बाटो खुलाइदिए ।
वि.सं. १९८९ भदौ ६ गते भीमशमशेरले यस्तो इस्तिहार जारी गरेका थिए । त्यसैले तामाङहरू भदौ ६ गतेलाई केही वर्षयतादेखि उत्सवस्वरूप ‘तामाङ पहिचान दिवस’का रूपमा सम्झना गर्दै आएका छन् ।
पहिले तामाङहरूलाई ‘मुर्मी भोट्या’ भनेर सम्वोधन गरिन्थ्यो । ‘मुर्मी’को अर्थ सिमानाका बासिन्दा भन्ने लाग्छ (जनकलाल शर्मा, ‘हाम्रो समाज एक अध्ययन’–२०७५ः३८८) । यसैगरी उनीहरूलाई ‘भोट्या’ भनेर पनि सम्बोधन गरिन्थ्यो । भोट्या भनेको भोट अर्थात् तिब्बततिरको बासिन्दा भन्ने अर्थ लाग्छ ।
यसअर्थमा ‘मुर्मी भोट्या’ भन्नाले सिमानातिर बस्ने तिब्बतीहरू भन्ने अर्थमा लिन सकिन्छ । यहाँको एक प्राचीन आदिवासीलाई तल खसाल्ने वा उनीहरूको प्राचीन अस्तित्त्वमाथि नै प्रश्न उठाउने उद्देश्यका साथ लामो समयसम्म सरकारी अभिलेखहरूबाटै ‘मुर्मी भोट्या’ भनी सम्वोधन गरियो । तामाङहरूले उनीहरूलाई ‘मुर्मी भोट्या’ भनेको मन पराउँदैनन् ।
नेपालका आदिवासीमध्ये तामाङहरूको सङ्ख्या मगरपछिको दोस्रो ठूलो छ । उनीहरूको आवादी राज्यको राजधानी रहेको काठमाडौं वरपर बाक्लो भएकोले कुनै पनि समय उनीहरूले घेराउ गरेर शासनको केन्द्रमा दुःख दिन सक्ने सम्भावनाले उनीहरूलाई दमन र उत्पीडनमा पारेरै तह लगाउन पनि राज्य औपचारिक रूपमै उनीहरूविरूद्ध उत्रेको हो कि भन्ने देखिन्छ ।
देशमा गणतन्त्र आएपछि खारेज गरिएको सेनाको पीपा गोश्वारा तामाङहरूलाई हतियार भिर्न नदिने गरी भारी बोकाउन राज्यले खडा गरेको सरकारी अड्डा थियो । पीपा गोश्वाराबाट तामाङहरूले मुक्ति पाएको धेरै भएको छैन ।
गोरखालीविरूद्ध जहिल्यै बागी
तामाङहरूको इतिहास खोतल्दा उनीहरू जहिल्यै गोरखालीविरूद्धको मोर्चामा सक्रिय भएको देखिन्छ । एक पटक त तामाङहरू कान्तिपुरका राजा जयप्रकाश मल्लप्रतिको बफादारितामा पृथ्वीनारायण शाहका जेठा छोरा युवराज प्रतापसिंह शाहलाई शिकारमा गएको बखत चिसापानी जङ्गलबाट अपहरण गर्ने योजनासमेत रहेको देखिन्छ ।
‘प्राचीन नेपाल’, सङ्ख्या २२ (माघ २०२९ः९–१०)मा उल्लेख भएअनुसार कान्तिपुरका राजा जयप्रकाश मल्लले थानसिंहका जैसीहरूलाई हात लिएर युवराज प्रतापसिंह शाहलाई शिकार खेलाउने बाहनामा चिसापानी लेकमा बँदेल पार्न भनी त्यसतर्फ ल्याउने योजना बनाएका थिए । यो योजना पुरा गर्न त्यस क्षेत्रमा १२ सय भोटे (तामाङ) र दुई सय मगर सेना लुकाएर राख्ने सल्लाह गरिएको थियो ।
यसको सुइँको पाटनका काजी धनवन्तले गोरखाली भारदारहरू यज्ञेश्वर जैसी र शिवनन्द कोइरालालाई दिए । त्यसपछि युवराज प्रतापसिंह शाहलाई उद्धार गरियो भने यो प्रकरणमा मुख्य रूपमा संलग्न रहेको अभियोगमा जसकर्ण पाँडेलगायत आठ जना जैसीलाई पृथ्वीनारायण शाहले मृत्यूदण्ड नै दिएका थिए ।
एक पटक राजा नरभूपाल शाहले गोरखा राज्य विस्तार गर्न नुवाकोट आक्रमण गर्ने योजना बनाएका थिए । यो उद्देश्य पुरा गर्न काजी महेश्वर पन्थ र काजी जयन्त राना सेनाको लश्कर लिई नुवाकोट हान्न कटुन्जे आइपुग्दा त्यहाँ उनीहरू बास बसेका थिए । त्यहाँ भोटे (तामाङ)का गोले राजा थिए । कटुञ्जेदेखि सामरीसम्म गोले राजाको शासन चल्थ्यो । त्यहाँ गोरखाली आएको देखेर दिउँसो मान गरेजस्तो गर्ने र रातको समयमा दङ्गा आदि गरेर दुःख दिने गर्थे । त्यसैले उनीहरू त्यहाँ टिक्न नसकेर आफ्नो सेनाका साथ गोरखा फर्कन बाध्य हुनु परेको थियो ।
फेरि साइत निकालेर नुवाकोट आक्रमण गर्न जाँदा कटुञ्जेदेखि सामरीसम्मका गोले राजालाई मारेर उनीहरू नुवाकोट आक्रमणका लागि अगाडि बढेका थिए (‘प्राचीन नेपाल’ संख्या २१–कात्तिक २०२९ः७) ।
पृथ्वीनारायण शाहको योजना पुरा हुन नदिन तामाङहरूले धेरै पटक गोरखाली अभियानमा व्यवधान खडा गरेको इतिहास पाइन्छ । यसैक्रममा पृथ्वीनारायण शाहले उपत्यका घेराउ गर्दै कान्तिपुर राज्यको भोटसँग चल्ने व्यापारिक नाकाहरू थुन्दै जाने अभियानअन्तरगत वि.सं. १८११ साउनमा कान्तिपुरको अधिनमा रहेको नालदुम कब्जा गर्न नुवाकोटबाट आफ्ना सैनिकहरूलाई विदा गरेका थिए । तर गोरखालीहरूले नालदुम कब्जा गर्न बनाएको किल्ला वरपर आगजनी गरी उपद्रव मच्चाई तामाङहरूले गोरखाली अभियानमा ठूलो व्यवधान खडा गरिदिएका थिए ।
यसो हुँदा गोरखाली सैनिकहरू किल्लाभित्रै भोकभोकै बस्न बाध्य हुनुपरेको थियो । बलियोसँग किल्ला बनाई दाउ हेरेर बसिरहेका गोरखालीको किल्लामा रसद पानीको अभाव खडा गराई गोरखालीको शक्ति क्षीण गराई दिने निर्णयमा पुगेका कान्तिपुरका राजा जयप्रकाश मल्लले खासा, विगु, तौथली र तिमालका भोटे (तामाङ)हरूलाई उठाई गोरखालीहरूको पक्षपाती बसेका गाउँहरूमा लुटपिट मच्चाई आगो लगाई उपद्रव मच्चाए (मोहनप्रसाद खनाल, ‘प्राचीन नेपाल’ सङ्ख्या ११–वैशाख २०२७ः२६–२७) ।
यसरी आफूहरूविरूद्ध जहिल्यै वागी भनेका तामाङहरूलाई गोरखालीहरूले जबरजस्ती नराम्रो काममा पनि लगाएका थिए ।
गोरखालीहरूले कीर्तिपुर कब्जा गरिसकेपछि आत्मसमर्पण गरेर आफूहरूको शरणमा आइसकेका कीर्तिपुरेहरूको नाक काटिदिएर गोरखालीहरूले ठूलो अमानवीय व्यवहार प्रस्तुत गरेका थिए । इतिहासमा यो घटनालाई अत्यन्तै क्रुर मानिन्छ । यो घटनामा तामाङहरू पनि जोडिएको चर्चा भने धेरै हुने गरेको छैन ।
बास्तवमा कीर्तिपुरेहरूको नाक काट्नका लागि गोरखालीहरूले आफूहरूको अधिनमा आइसकेका सोझासिधा तामाङहरूलाई लिएर गएका थिए । काठमाडौंका स्थानीय युवा भागवतनरसिंह प्रधानबाट प्राप्त भएको एक वंशावलीअनुसार त्यहाँ नाक काट्न भनी लगिएका तामाङहरूले कीर्तिपुरेको ओँठ पनि काटिदिएपछि उनीहरूको पनि कीर्तिपुरमै हत्या गरिएको थियो (राजकुमार दिक्पाल, ‘झन् नयाँ’ नयाँ पत्रिका–२०८० वैशाख ३०) ।
यस्ता अनेकौं ऐतिहासिक तथ्यहरूबाट थाहा हुन्छ, तामाङहरू जहिल्यै विद्रोहीका रूपमा गोरखालीविरूद्ध खडा भइरहे । राज्यले उनीहरूमाथि दमनचक्र चलाइरह्यो ।
तिमाल ध्वस्त बनाइदा
हालः काभ्रेपलाञ्चोक जिल्लामा पर्ने तिमाल क्षेत्रलाई तामाङहरूले आफ्नो असाध्यै महत्त्वपूर्ण ऐतिहासिक स्थल मान्ने गरेका छन् । यो क्षेत्र गोरखालीले आफू अधिनस्थ गर्नुअघि रिन्छेन दोर्जे यहाँका स्थानीय तामाङ शासक भएको ऐतिहासिक रूपमा प्रामाणिक छ ।
तिमालका तामाङहरू रिन्छेन दोर्जेलाई आफ्नो राजा नै मान्ने गर्छन् । यहाँ उनकी रानीसहित रिन्छेन दोर्जेको प्रतिमा पनि प्रतिस्थापन गरिएको छ ।
गोरखा राज्यको अधिनमा नआउन्जेल तिमालका तामाङहरूले मकवानपुरलाई केन्द्र सरकार मान्ने गर्थे । मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले हरिहरपुरबाट वि.सं. १८१९ भदौ सुदीमा दिएको एक ताम्रपत्र चन्द्रप्रकाश त्रिपाठीले ‘प्राचीन नेपाल’ सङ्ख्या ९१ (पुस–माघ २०४२ः६)मा प्रकाशित गरेका छन् । यसबाट पनि तिमालका रिन्छेन दोर्जे ऐतिहासिक रूपमा प्रामाणिक शासक हुन् भन्ने स्पष्ट हुन्छ । उनलाई गोरखालीहरूले छलकपट गरी मारेको अनुश्रुतिगत इतिहास तिमाल क्षेत्रमा पाइन्छ ।
पृथ्वीनारायण शाहले तिमाल हात लिन सबैभन्दा पहिले पलाञ्चोकका बगाले थापाहरूलाई हातमा लिएका थिए । तीमध्ये एक हुन्, लछिमन थापा । उनलाई पृथ्वीनारायण शाहले लेखेको पत्रको भाकाअनुसार उनले गोरखालीसँग मिलेर काम गर्ने चाहना राखेका थिए । लछिमनलाई पृथ्वीनारायण शाहले लेखेको पत्रअनुसार पनि तिमाल क्षेत्रका तामाङहरू त्यसबेला गोरखालीहरूसँग लड्न भिड्न तयार अवस्थामा रहेका देखिन्छन् ।
१८१९ भदौ शुदि १ रोज ६ मा लेखिएको यो पत्र इतिहासकार मोहनप्रसाद खनालले ‘पृथ्वीपत्र सङ्ग्रह भाग १’ (२०१८ः१०) मा प्रकाशित गरेकाछन् ।
पत्रमा पृथ्वीनारायण शाहले ‘…हिजो पनि मईले तेरो पिछा लियाकै हो तैलेई कपट घाली विर्या धामिको नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या छ अरू कौनै तेरो विराउ छैन धर्म भागि पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा. तेरो जतिहो तति वकसुला. उप्रान्त तिमालको काज पुर्याऊ छु भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आट. भदउका दिन नसकि जैसिले साइत दियानन् ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या कामगर’ भनी लछिमान थापालाई अराउखटाउ गरेका छन् ।
पत्रमा उल्लेख भएको भोट्या अर्थात् तामाङहरू चम्केका छन् भनेकोले उनीहरू शत्रुसँग लड्न भिड्न तयार अवस्थामा रहेका थिए भन्ने बुझ्न गाह्रो छैन । पत्रअनुसार लछिमन थापाले गोरखालीले तिमालमा आक्रमण गर्दा आवश्यक सहयोग पुर्याउने सन्देश पृथ्वीनारायण शाहसमक्ष पुर्याइसकेका थिए । तर ज्योतिषले भदौमा नभई असोजमा मात्र आक्रमणको साइत दिएकोले त्यतिञ्जेलसम्मलाई त्यहाँका तामाङहरूलाई सम्झाई बुझाई गरी थामिराख्न समेत पृथ्वीनारायण शाहले लछिमनलाई आदेश दिएको देखिन्छ ।
ज्योतिषले साइत दिएपछि गोरखाली सेनाले तिमाल आक्रमण गर्याे । गोरखालीहरूले वि.सं. १८१९ असोज २ गते तिमालकोट कब्जा गरे । यस युद्धमा तीन सय जनाको मृत्यू भयो (दिनेशराज पन्त, ‘महामण्डलदेखि काँगडासम्म’–२०६७ः३१) ।
तिमालकोटको युद्धका सम्बन्धमा ‘भाषा वंशावली’मा पृथ्वीनारायण शाहकै भाकामा ‘मकवानपुर सर भयो । तिमाल र सिन्धुली फत्ते भयो । अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्ना मन्त्रीवर्गसित सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रूद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर प्रभृति नजिकी, द्वार्या, उमराव गैह्रथरघर मालमानिस समेत फौज विदा गर्नुभयो, लश्कर लिई भाइभारदारले तिमालकोट हान्या । हान्दा ३०० गीड पर्याका’ भन्ने उल्लेख छ (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णाङ्क १४–साउन, भदौ, असोज२०२४ः१४४)।
तिमालकोटको युद्धका सम्बन्धमा गोरखाली पक्षमा लेखिएको इतिहासभन्दा अलि फरक खालको इतिहास पाइन्छ, तिमाल क्षेत्रको अनुश्रुतिमा । युद्धका क्रममा यहाँका स्थानीय शासक रिन्छेन दोर्जे षड्यन्त्रपूर्वक मारिए भन्ने अनुश्रुति तिमाल क्षेत्रमा पाइन्छ । उनलाई शान्ति सम्झौता गर्ने बाहनामा सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाइएको र त्यहीँ सर्तअनुसार उनी त्यहाँ पुगेका तर गोरखालीहरूबाट सुनकोशी किनारमा बालुवामा लुकाएर राखिएको हतियार झिकी रिन्छेन दोर्जे लगायत उनका मानिसहरूको हत्या गरिएको थियो (लिलाबहादुर दोङ तामाङ, ‘तेमाल दरबार र तामाङ राजाहरू’–२०६०ः३०–३४) ।
यसरी तामाङहरूको ऐतिहासिक र राजकीय महत्त्वको तिमाल क्षेत्रलाई गोरखालीहरूले कब्जा गरेका थिए ।
तर तिमाल हात लिइसके पनि पृथ्वीनारायण शाह तामाङहरूसँग ढुक्क भएर बस्न सकेका थिएनन् । यसको प्रमाण हो, उनले सरदार रामकृष्ण कुँवरलाई विभिन्न विर्ता र वक्सिस दिने आश्वासनसहित पनौति क्षेत्रका तामाङहरूलाई सम्झाउँदै बुझाउँदै गर्न भन्ने बेहोराकासाथ लेखेका पत्र ।
रामकृष्णलाई वि.सं. १८२० असार वदी ७ मा पृथ्वीनारायण शाहले लेखेको पत्रमा ‘पनौतीका भोटेहरूको कुरा गर सजा कोटको जागिर मोहर गरी पठाएको छु । त्यो मोहर र लेय मिझार्याका भाइ छोरा वलक पनि झिकी हाम्रो काम पुर्याएपछि सये तीन सिक्का सुन चुरा घोडा सिरोपाउ बक्सौंला…’ भन्ने परेको छ (नयराज पन्त र अरू (सम्पा.) ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’–२०२५ः९८८–८९) ।
यी ऐतिहासिक तथ्यहरूबाट पृथ्वीनारायण शाहले तामाङहरूको भूमि कसरी हात पारेका रहेछन् भन्ने इतिहासको चित्र स्पष्ट हुन आउँछ ।
हजार तामाङको बलिदान
गोरखालीहरूको अधिनमा आइसकेपछि पनि तामाङहरू चुपचाप लागेर बसेको देखिँदैन । उनीहरूले बेला बेलामा विद्रोहको झण्डा उचालेको देखिन्छ ।
राजा रणबहादुर शाहको पालामा लच्याङका तामाङहरूले निक्कै ठूलो विद्रोह गरेका थिए । यहाँ राज्यका तर्फबाट ठूलो नरसंहार मच्चाइएको थियो । यस्तो घटना वि.सं. १८५० को जेठ महिनाको पहिलो साता र साउन महिना दोस्रो साता गरी दुई पटक भएको थियो । यस घटनामा हजारौ तामाङ बलिदान भएको तत्कालीन राजा रणबहादुर शाह स्वयम्को अभिव्यक्तिले नै पुष्टि गर्छ ।
यस डरलाग्दो घटना खुल्ने ऐतिहासिक पत्रहरू प्रकाशित छन् ।
इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ६४ (चैत २०४१ः१–३)मा तत्कालीन राजा रणबहादुर शाहले कालु पाँडेलाई लेखेको पत्रमा तामाङहरूले ठूलो विद्रोह गरेको र विद्रोह दमन गर्दा एक हजार तामाङको हत्या गरिएको उल्लेख छ ।
यसैगरी इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ७५ (मङ्सिर २०४५ः१८) मा विद्रोहपछि लच्याङका तामाङहरूलाई उनीहरूको जग्गा जमिन थामिदिएको पत्र प्रकाशित गरेका छन् । यी पत्रहरूले त्यस क्षेत्रमा डरलाग्दो नरसंहार गरेको देखिन्छ ।
यसरी लच्याङमा विद्रोह गर्दा काटिएकाहरूको सन्तानको घरबारी थामिदिएको लालमोहर त्यहाँका मुर्मी (तामाङ)हरूको नाममा रणबहादुर शाहले १८५० साल श्रावण शुदि २ रोज ४ मा मुकाम कान्तिपुरबाट जारी गरे । रणजीत पाँडेमार्फत त्यहाँ पठाइएको पत्रको ब्यहोरा यस्तो छ-
स्वस्ति श्रीमन्हाराजाधिराज कस्य रूक्का…
आगे. लच्याङका मुःर्वि प्रजापति. तिमीहरूका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरूको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत…..को टहल परापूर्वको रित गर. ईति संम्वत १८५० साल श्रावणशुदि २ रोज ४ मुकाम कांतिपुर. शुभम् (पन्त, २०४५ः१८) ।
विद्रोह दमनपछि तामाङहरूको जग्गा जमिन थामिदिएको पत्रहरू इतिहासकार महेशचन्द्र रेग्मीले पनि प्रकाशमा ल्याएका छन् । रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १६ अङ्क ९–१० (सेप्टेम्बर–अक्टोबर १९८४ः१२९)मा प्रकाशित गरेको ऐतिहासिक पत्रअनुसार वि.सं. १८५० साउन सुदी ६ मा फोकटपुर, तापेका, सानागाउँ, धैवुङ, कामचोक, उपल्लो गेर्खु, हिल्पा, भुलुटार जेवाङ, कविलास, चोग्दे, पुदिकेतिक्पा र चिद्याङका तामाङहरूलाई उनीहरूको जग्गा जमिन थामिएको मोहर प्रदान गरिएको थियो ।
यस्तै पाँचसयखोला क्षेत्रका बासिन्दाको नाममा वि.सं. १८५० साउन वदी १२ मा मोहर जारी गरियो । मोहरमा विद्रोहमा सहभागी भएकाले तामाङहरूलाई समातिएको र काटिएको उल्लेख गर्दै यदि त्यहाँ कुनै विद्रोही लुकेर बसेका रहेछन् भने समातेर अमालीमा बुझाउनसमेत आदेश दिइएको छ (रेग्मी, सन् १९८४ः१२९) ।
यसबाट विद्रोहमा सामेल हुँदा बचेखुचेका कसैलाई पनि बाँकी नराख्ने तत्कालीन राज्यको नीति रहेको भन्ने पनि स्पष्ट हुन आउँछ ।
तामाङहरूले के कारण विद्रोह गरे, विद्रोह दमन गर्दा के कसो गरियो यसबारेमा चर्चा गरौँ–
राजा रणबहादुर शाहले नुवाकोटतिर काजमा जाँदै गरेका कालु पाँडेलाई त्यहाँको तत्कालीन अवस्थाबारे जानकारी गराउन पत्र लेख्दा त्यहाँ तामाङहरूले ठूलो विद्रोह गरेको र विद्रोह दमन गर्दा एक हजार तामाङलाई काटिएको प्रसङ्ग परेको छ ।
यो पत्र पाउने कालु पाँडे पृथ्वीनारायण शाहको समयका प्रशिद्ध सेनापति नभई अर्को कालु पाँडे हुन् । पछिल्ला कालु पाँडे काजी पदमा नभई कप्तान पदमा सक्रिय भएका प्रशस्तै पत्रहरू पाइएका छन् ।
त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो । जेठ महिना सुरू हुँदै एक दुई जना तामाङले आफूलाई अवतारी हुँ भन्दै नालदुम पश्चिम र बेत्रावतिपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए । उनीहरूसँग साँगाचोकमा लामाले विमति जनाएका कारण तिनको हत्या भयो । यो खबर पाएर त्यो विद्रोह दवाउन सरकारले दुई पल्टन सैनिक पठायो । केही तामाङलाई काटियो ।
फेरि त्यसको दुई महिनापछि तामाङहरूले निक्कै ठूलो विद्रोह गरे । साउन १० गते शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भए । उनीहरूले लुट मच्चाउन थालेको खबर सरकारलाई भयो । यो खबरपछि फौज पठाई एक हजार जनाको ज्यान लिने काम भयो । यो हत्याकाण्डमा गाउँका मिझार गौरूंका जहान परिवारलाई पनि काटिएको थियो । मिझार भनेको गाउँको जिम्मावाल व्यक्ति हुन् । गौरूं भनेको चाहिँ मिझारलाई सहयोग गर्ने जिम्मेवार व्यक्ति हुन् । लिम्बूलाई किपट थाम्न सुब्बा दिएजस्तै तामाङलाई ‘मिझार’ पद दिइन्थ्यो ।
त्यो समय विद्रोहको आधार धार्मिक हुन्थ्यो । पत्रमा तामाङहरूले ‘अवतारी हुँ’ भनी घोषणा गरेको भन्ने परेबाट लच्याङका तामाङहरूले पनि धार्मिक आधार लिएर विद्रोह गरेका थिए भन्ने बुझ्न सकिन्छ ।
अझ ‘प्राचीन नेपाल’ सङ्ख्या २४ (साउन २०३०ः२)मा छापिएको वंशावलीमा स्पष्ट रूपमा तामाङहरूले गरेको त्यसबेलाको विद्रोह बौद्ध धर्मको आडमा भएको देखिन्छ । यस वंशावलीमा ‘बौद्ध अवतार भयो भनी मारामालाका भोटेहरूले कुल गरी महामण्डलमा ठाना हाले । सो खबर सरकारमा आई पक्रन फौज पठाए । मुद्दामा भोटेहरूलाई पक्रे र ल्याई कसैलाई सुली हाले, कसैलाई झुण्ड्याए र कसैलाई काटी मारे’ भन्ने परेबाट विद्रोह बौद्ध धर्मको आडमा भएको स्पष्ट हुन्छ ।
लच्याङको त्यो डरलाग्दो हत्याकाण्डको प्रसङ्ग खुल्ने गरी तत्कालीन राजा रणबहादुर शाहले वि.सं. १८५० साउन सुदी ३ रोज ६ मा कालु पाँडेलाई पठाएको पत्रको सार यस्तो छ-
स्वस्तिश्री राजभारासामर्थ श्रीकालु पांडेके सलामपूर्वक पत्र मिदम्…
उप्रांत लाग्दै जेठमा १।२ मुर्मि प्रजाले औतारि हौं भनि नालदुम पश्चीम वेत्रावति पूर्वका प्रजा वटुलि भारनागल्यामा भेला भएछन्. इन्सँग नमिलन्या सांगाचोकका लामालाई मार्या भन्या षवर आयो र २ कंपनि पठाउंदा केहि काटिया. केहि भाग्याका थिया. फेरि साउनका १० जादा सिकव्र्यासी तांवेसतार नर्जा कविलास भोंट्या भेला भै घर पोलि लुट गर्याे भन्या खबर आयो. र फौज पठाई हजार मुर्मि साफ भया. गाउंल्याका कविला आफ्ना आफ्ना घरबारि राषि मिजार गौरूंका कवीला मासिया. देसको साहास पाईकन गर्याको रहेनछ. ई प्रजाका जाना मिलो छ्यागियाका रह्याछन्. सोहिमाफिक तंवि गरिउं… (पन्त, २०४१ः१–३) ।
त्यो समय एक हजार भनेको ठूलो जनसङ्ख्या हो । त्यसमा कति विस्थापित भए होलान्, कति छोरीचेलीको इज्जत लुटियो होला ? यसको कुनै हिसावकिताव छैन ।
यो विद्रोह पहिलो पटक जेठमा र दोस्रो पटक साउनमा भएको छ । यो समय बालीनाली लगाउने समय हो । त्यतिखेरको जनजीवन पूर्ण रूपमा कृषिमा निर्भर हुने गथ्र्यो । बालीनाली लगाउने जनशक्तिलाई नै संहार गरिएको हुँदा त्यो साल यस क्षेत्रमा ठूलो अनिकाल परेको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ ।
तामाङ इतिहासमा वि.सं. १८५० को नरसंहारको यो घटना बिर्सिनसक्नुको छ । यस्तो कठोर दमनले पनि उनीहरूलाई माथि उठ्न नदिन ठूलो भूमिका खेलेको निर्विवाद छ । दुई पटक भएको घटनामध्ये ऐतिहासिक पत्रमा जेठ महिनाको दिन गते खुलेको छैन तर दोस्रोपटकको र ठूलो घटना वि.सं. १८५० साउन १० गते भएको स्पष्टै देखिन्छ । त्यसैले तामाङहरूले साउन १० गतेलाई बलिदान दिवसको रूपमा किन सम्झना नगर्ने ? जसरी भदौ ६ गतेलाई तामाङ पहिचान दिवसको रूपमा सम्झना गरिन्छ ।
तामाङहरू बौद्धमार्गी हुन् । बौद्धमार्गमा क्षमाशीलताको स्थान महत्त्वपूर्ण रहेको छ । दमनकारी राज्यलाई क्षमा दिए पनि त्यो घटनालाई किन बिर्सने ?
‘फर्गिभ् फर्गेट् नट्’ अर्थात् क्षमा देऊ, तर नबिर्स !