रुपन्देही । रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकको नाममा लाइन उठाउँदै आएका प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) एक्काबहादुर नेपाली प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएका छन् । जसले रुपन्देहीमा कार्यरत कर्तव्य निष्ठ प्रहरी कर्मचारीहरूमा नैराश्य छाएको छ ।
लामो समयदेखि रुपन्देहीमा बसेर शक्ति केन्द्रको पहुँचमा रहँदै असुली धन्दा गर्दै आएका उनको बढुवा सिफारिसले इमानदारी पूर्वक काम गर्ने प्रहरी कर्मचारीमा नैराश्य छाएको हो ।
उनको बढुवा सिफारिससँगै इमानदारीताका साथ काम गर्नुभन्दा पनि शक्तिकेन्द्र र प्रहरी नेतृत्वलाई रिझाएमा जे पनि हुन सक्ने रहेछ भन्ने मनोविज्ञान प्रहरी कर्मचारीमा पर्न गएको छ ।
वरिष्ठ सई नेपाली जिल्लामा जहाँ कार्यरत रहे त्यही विवादित बनेका थिए । प्रहरी चौकी धगधईमा कार्यरत हुँदा उनले तस्करहरूसँग मिलेर अवैध काम गरेर अनुचित लाभ लिएको आरोप लागेको थियो । त्यसबेला उनलाई तत्कालीन एसपी मनोज केसीले जिल्लामा तानेका थिए ।
केही समय नियमीत डिटीमा सीमित बनेका उनी रवीन्द्र नाथ रेग्मी आएसँगै पुनः चलखेलमा जुटे । त्यसबेलादेखि जिल्लामा सादा पोसाकका प्रहरी (घुमुवा) घटाउने विषयमा भित्रभित्रै भूमिका खेल्दै आएका उनी हालका एसपी भरत बिक आएपछि भने नेतृत्वदायी भूमिकामा छन् ।
एसपीको नाममा लाइन उठाउनेदेखि घुमुवा, अपराध अनुसन्धान एवं मातहतका चौकीहरूमा कसलाई इन्चार्ज पठाउने भन्नेसम्मको निर्णय उनैले लिने गरेका छन् ।
पछिल्लो समय मातहतका चौकीमा इन्चार्जहरू परिवर्तन भएका छन् । यिनै वरिष्ठ सहीको सल्लाह बमोजिम एसपीले इन्चार्ज छनोट गरेको चर्चा चल्ने गरेको छ । त्यसबापत वरिष्ठ सई विकले एसपी सापलाई दिनुपर्ने भन्दै प्रत्येक चौकीबाट उसको क्षेत्रअनुसार २० देखि ३० हजारसम्म मासिक रूपमा लिँदै आएका छन् ।
घुमुवा घटनपनमा समेत उनै हाबी छन् । घुमुवाहरूलाई आफू अनुकुल परिचालन गरी उनले अहिले क्यासीनो, तस्कर र यसअघि नदीजन्य पदार्थका ठेकेदारहरूबाट मोटो रकम असुली गरेका छन् ।
रुपन्देहीमा पछिल्लो समय प्रहरीको संरक्षणमा तस्करीको लाइन खुलेको छ । तस्करीमा जोडिएका एसपीका विश्वास पात्रहरू एक्काबहादुर बाहेक अन्यको बारेमा दृष्टि न्यूजले यसअघि नै प्रकाशन गरिसकेको छ ।
पटकपटक एसपीको नाममा लाइन उठेको कुरा सार्वजनिक हुँदा समेत उनी मौन छन् । शून्य सहनशीलता नारा दिएका एसपीका विश्वासपात्र खुलेआम असुली धन्दामा लागेका छन् ।