Logo
Logo

नेकपा अध्यक्षद्वयको आसनमा ‘हैसियत बराबरी’ !


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बल्ल दुई अध्यक्ष भएको आभाष भएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो छेउमै राखेपछि (तस्बिर हेर्नुस्) यस्तो देखिएको हो ।
यसअघि अध्यक्ष ओलीमात्रै अघिल्तिर बस्थे भने दायाँबायाँको सोफामा अध्यक्ष दाहाल रहँदै आएका थिए, जसले नेकपामा एउटै मात्रै अध्यक्ष छन् भन्ने देखिन्थ्यो । पुरानो भवन छाडेर नयाँ भवनमा सरेपछि पहिलोपटक बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहाल एउटै लहरमा बसेका थिए । त्यतिमात्र नभएर उनीहरु बस्ने कुर्सीको साइज र रङ समेत एउटै किसिमको छ ।
पार्टीको कार्यकारीको म्मिेवारी दिएपछि सचिवालय बैठक र स्थायी समिति बैठकसमेत सञ्चालनको समेत अध्यक्षता गर्दै आएका अध्यक्ष दाहाल र ओलीले आसनमार्फत ‘बराबरी हैसियत’ दिएका हुन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास भत्काएपछि मुख्य सचिवका लागि बनाइएको निवासमा सरेका प्रधानमन्त्री ओलीले पहिलोपटक सचिवालय बैठक बोलाएका हुन् । आइतबार बसेको उक्त सचिवालय बैठकबाट नेकपाले प्रदेश नं ३ को नाम र राजधानीको निर्णय गरेको छ । नेकपाले प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडामै राख्नसमेत प्रदेश कमिटि र प्रदेशको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । बाग्मती प्रदेश नाम राख्दा सबैलाई समेट्ने भएकाले यस्तो नाम राख्ने निर्णय भएको नेकपाले जनाएको छ । यद्यपी यसको टुंगो भने प्रदेश सरकारले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्