एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको छ । सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रपति मोहमेद बजुमलाई कब्जामा लिएर त्यहाँको संविधान विघटन भएको घोषणा गरेका हुन् ।
राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन् । उनले आफ्नो सम्बोधनमा बाजुमले कुनै प्रकारको हस्तक्षेप नगर्न सबै अन्तर्राष्ट्रिय साझेदारलाई आग्रह गरेका थिए ।
सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै आफ्नो नियन्त्रणमा लिएको थियो । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अपदस्थ राष्ट्रपति बजुमसँग टेलिफोन वार्ता गरेको जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्कनले बजुमलाई उनीप्रति वासिङ्गटनको समर्थन रहेको सन्देश दिएका थिए भने महासचिव गुटेरेसले पनि उनीप्रति राष्ट्रसंघको पूर्ण समर्थन रहेको बताएका थिए ।
अपदस्थ राष्ट्रपति बजुम इस्लामिक जिहादीविरुद्धको लडाईमा पश्चिमा देशका एक प्रमुख सहयोगीका रुपमा रहँदै आएका थिए । नाइजर सब सहारन क्षेत्रबाट हुने अवैध आप्रवासन विरुद्धको लडाईमा युरोपेली संघको एक मुख्य सहयोगी राष्ट्रसमेत हो ।