Logo
Logo

उत्तर कोरियाली नेता किम उच्चस्तरीय छलफलमा, अमेरिका सशंकित


- दृष्टि न्युज/संवाददाता

0
Shares

सोल, १३ पुस (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन् ।
अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उनले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ । यो वार्तामा के कस्ता विषयमा छलफल भएको छ भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको समाचारमा जनाइएको छ ।
शनिबारबाट शुरु भएको उक्त बैठक आइतबार पनि जारी रहेको बताइएको छ । यस बैठकमा कतिपयले अमेरिकासँग गर्ने भनिएको यसअघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा कुराकानी भएको अनुमान गरेका छन् । तर कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्काे आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन् । उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो ।
यो बैठकमा उत्तर कोरियाली सरकारले आणविक परीक्षण गर्नसक्ने र सो विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेको जनाइएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति के सि एनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अरु विभिन्न महत्वपूर्ण विषयवस्तुहरुमा कुराकानी गर्ने जानकारी दिएको छ ।
यस वर्षको शुरुवातमै कम्बोडियाको राजधानी हनोइमा भएको उच्चस्तरीय वार्तापछि अमेरिकासँगको यस्तो वार्ता भएको छैन । त्यस वार्तामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो । त्यस वार्तामा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा निशस्त्रीकरणका विषयमा सहमति भएको बताइएको थियो । तर उत्तर कोरियाले सो सहमति पालना नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्