Logo
Logo

नाइजरमा सैन्य विद्रोह : संविधान निलम्बनको घोषणा, अपदस्त राष्ट्रपतिद्वारा लोकतन्त्र जोगाउने प्रतिबद्धता


एजेन्सी

630
Shares

नियामे । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीर गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यु’ आदेश जारी गरिएको छ ।

‘हामी, रक्षा र सुरक्षा बलहरूले राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं’ अन्य नौ जना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे ।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका हुन् ।
छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ । राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । अफ्रिकी सङ्घ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् ।

लोकतन्त्र जोगाउने प्रतिबद्धता
यसैबीच सैनिक हिरासतामा रहेका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो संघर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै नाइजसवासी आफ्नो पक्षमा रहेका उनले बताएका छन् ।

आफ्नै सेनाद्वारा बन्दी बनाइएका उनले कठोर सङ्घर्षबाट प्राप्त प्रजातान्त्रिक उपलव्धि जोगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका छन् ।

अफ्रिकी र अन्तरराष्ट्रिय सङ्गठनले सैन्य विद्रोहको निन्दा गरेकाछन् । साथै नाइजरका पश्चिमा सहयोगीले पनि सैनिक कारबाहीको निन्दा गर्दै अविलम्ब राष्ट्रपतिलाई रिहा गर्न र लोकतान्त्रिक पद्धतिमा फर्कनन आह्वान गरेका छन् ।

नाइजरका विदेशमन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सिपाहीलाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणतन्त्रको विपक्षमा जान नसकिने पनि स्पष्ट पारेका छन् । साथै उनले राष्ट्रपति सकुशल रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्