राजनीतिक इतिहास फर्केर हेर्दा अनेकौं अनुरागहरू भेटिन्छन् । खासगरी, फ्रान्सेली राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रताको क्रान्ति, रसियन क्रान्ति, चिनियाँ साँस्कृतिक क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम आदि भुल्न नमिल्ने राजनीतिक अनुराग हुन् ।
फ्रान्सेली राज्यक्रान्ति (१७८९ देखि १७९९) का नेता थिए नेपोलियन बोनापार्ट । जुन क्रान्तिले आधुनिक विश्व राजनीतिक, सामाजिक, आर्थिक इतिहासको दिशा परिवर्तन मात्र गरेन, विश्वभरका मानिसहरूमा स्वतन्त्रता, समानता र भ्रातृत्वको चेतना दियो । साथै विश्वबाट राजतन्त्र पतनको बाटोमा गयो ।
त्यस्तै अमेरिकी स्वतन्त्रताको क्रान्ति, रुसी समाजवादी क्रान्ति, चिनियाँ साँस्कृतिक क्रान्ति, भारतीय क्रान्तिको नेतृत्व गरेका नेताहरू (माक्र्स, एंगेल्स, रोजा, लेनिन, माओ, चे, गान्धी) आज विश्वका लागि पुज्य छन् । ती आन्दोलन र क्रान्ति सम्पन्न गर्ने महान नेताहरूले आफ्नो कठिन समय र उर्जाशील उमेरमा प्रतिपादन गरेका विचार, सिद्धान्त, क्रान्तिकारीपन, इच्छाशक्ति र संघर्षको बयान यति छोटो लेखमा सम्भव छैन ।
२०६०–०६१ सालतिर तत्कालीन माओवादी नेताहरू भन्थे, ‘हामी निर्णायक आन्दोलनमा छौं । सन्निकटमै हामीले युद्ध जित्दैछौं । हामीलाई थाक्ने र युद्धको मैदानबाट भाग्ने छुट छैन । पलायन र कायर बन्ने होइन ।’ त्यो बेला त्यतिधेरै नबुझेपनि पछि आएर माओवादीहरूले भनेको कुरा निक्कै महत्वपूर्ण रहेछ भन्ने महसुस भयो ।
खैर, राणा विरोधी क्रान्ति, पहिलो जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र खासगरी दोस्रो जनआन्दोलन विश्वकै इतिहासमा अन्त नभएको नेपाली क्रान्तिको नमूना हो । जनसंख्याकीका आधारमा यतिधेरै जनता सहभागिता भएको क्रान्ति इतिहासमा कतै भेटिँदैन । यति महत्वपूर्ण क्रान्ति सम्पन्न गर्ने नेताहरू (माधवकुमार नेपाल, गिरिजाप्रसाद कोइराला, प्रचण्डलगायत)प्रति उच्चसम्मान छ ।
साथै, केही प्रश्न पनि छन् । जीवनको अन्तिम भागमा आइपुग्दासम्म उहाँहरुले उत्तराधिकारी जन्माउन सक्नुभएन वा देख्नु भएन । यतिबेला अघिल्लो पुस्ताप्रतिको जनआकर्षण घट्दो क्रममा छ । यसको ठोस् विश्लेषण गर्ने बेला भयो । छुच्चो शब्दामा भन्दा अघिल्लो पुस्ताले बाटो खाली गर्नुपर्यो ।
मानव जीवनका केही खास सीमा र बन्धनहरू हुन्छन् । निजत्व र स्वतन्त्रता मानव जीवनका निम्ति खास सीमा हुन् । नेपालको सन्दर्भमा विपी, पुष्पालाल, मदन भण्डारी, माधव नेपाल, प्रचण्डहरूले नेतृत्व गर्दा उमेरको सीमा ४० कटेको थिएन । केही जीवित नेता अहिलेपनि सत्ता र शक्तिमै छन् । अब सवाल जन्मिन्छ, के बुढापाका नेताहरूले देश चलाउन सक्दैनन् ? अपवाद बाहेक सकेको इतिहास छैन ।
मलेसियामा महाथिर मोहमद ९२ वर्षको उमेरमा सत्तामा पुगेका थिए । मुस्किलले दुई वर्ष पनि सत्ता सञ्चालन गर्न सकेनन् । उनले समयको पदचाप तथा परिस्थितिको भौतिकवादी व्याख्या गर्न सकेनन् ।
आज पुँजीवादको चरम रुप सतहमा देखिन थालेको छ । प्रगतिशील विचार र सिद्धान्त रक्षात्मक अवस्थामा छन् । लोकतान्त्रिक आन्दोलन कमजोर बनिरहेको छ । यही अवस्थामा हामीले समाजवादी क्रान्तिको नारा लगाईरहेका छौं ।
२०७२ सालमा जारी भएको संविधानका धेरै कुरामा विमति राख्न सकिन्छ । तर, संविधान प्रगतिशिल छ । थप यसलाई प्रगतिशिल र व्यवहारिक बनाउन सकिन्छ । समाजवादी आन्दोलनलाई अघि बढाउने पहिलो सर्त नै संविधान कार्यान्वयन हो ।
तर, बिडम्बना भन्नुपर्छ, सरकार र पार्टीको नेतृत्वमा पहिलो पुस्ता बिराजमान छ । ‘पुराना नेताहरू अक्षम हुन्, यिनीहरू सच्चिदैनन्, सक्नुपर्छ । पदलाई मसानघाटसम्म पुर्याउन लालायित छन् । बाँचुञ्जेल पार्टीको प्रमुख हुन चाहान्छन्, यि काम नलाग्ने’ पुराना दल र नयाँ दल जस्ता भाष्यहरूको घण्टी नमजाले बजिरहेको छ ।
यस्ता महत्पूर्ण सन्दर्भमाथि निर्मम समीक्षा नगरी लगाइने समाजवादी नाराको अर्थ रहँदैन । तर, यस्तो कठिन समय र अवस्थामा पनि क्रान्तिकारी विचार बोक्ने नेताहरूले समाजवादको बारेमा भाषण गर्ने, नारा लगाउने, जनता जगाउने, छलफल, बहस गर्ने कार्यलाई तीव्र बनाएका छन् । यो सर्वथा राम्रो कुरा हो ।
निर्णायक हस्तक्षेपको खाँचो
कुनै बेला लोकतन्त्र, स्वतन्त्रता, समानता, सहभागिता, गणतन्त्र, संघीयता, अधिकारका बारेमा लडिएको निर्णायक लडाइँ पुनः एक पटक लड्नुपर्ने भएको छ । दलित, महिला, मधेशी, जनजाती, पीछडिएको वर्ग, क्षेत्र, समुदायको पक्षमा र समाजमा रहेका विद्यमान अन्तरविरोधका विपक्षमा उभिन सक्नुपर्छ ।
त्यस्तै, पर्यावरण जोगाउन, समतामुलक समाज निर्माण गर्न र समृद्धिको नारालाई साकार पार्न नेतृत्व रुपान्तरण र पुस्तान्तरण आजको आवश्यकता हो । यसका निम्ति युवाहरूले निर्णायक आन्दोलन गर्नुपर्छ ।
सँगै हामीले पहिलो पुस्ताका नेताहरूलाई धन्यवाद भन्न सक्नुपर्छ, विगतका ऐतिहासिक आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै । तर, माधवकुमार नेपाल, प्रचण्ड, शेरबहादुर देउवा र केपीशर्मा ओलीले दोस्रो पुस्तालाई नपत्याउनुको कारण के हो ? त्यो कारण पत्ता लगाउनुपर्छ ।
दोस्रो र तेस्रो पुस्ताका युवालाई राजनीतिक चेतनाहिन र पढ्दैनन् भन्ने आरोप लगाएर उनीहरू राज्य सत्ता र पार्टी सत्तामा कहिलेसम्म बसिरहने ? दुई पटक पार्टी अध्यक्ष हुनु भनेको नेतृत्व सफल र असल भएर मात्रै हुन्छ कि ? पहिलो पटक असफल भएर दोस्रो पटक राम्रो गर्छु भन्ने सन्देश पनि जन्मिन्छ ? यसको भौतिकवादी ब्याख्या आजको आवश्यकता हो ।
आज खासगरी कम्युनिष्ट पार्टीको आन्तरिक लोकतन्त्र मृतप्रायः छ । विचारको उत्पादन र पुर्नउत्पादन ठप्प छ । यो काम पहिलो पुस्ताबाटै भएको छ । यसको निर्मम समीक्षा नगरी अगाडि बढ्न सकिँदैन । आज पार्टी सदस्यता बोकेका लाखौँ युवाहरू दास बनेका छन् । प्रश्न गर्न सकिरहेका छैनन् । नेताहरूलाई प्रश्न गर्दा कारबाही भोग्नुपर्ने डर छ । ओत नपाउने हो कि भन्ने चिन्ता छ । तर, नेतृत्व नाङ्गै हिडिरहेको देख्दा देख्दै पनि अनदेखा गर्न मिल्छ ?
क्रान्तिकारी विचार र माक्र्सवादी समाजवादको झण्डा बोकेका युवाले पार्टीको नेतृत्व प्राप्तिका निम्ति, रूपान्तरणकारी आन्दोलनका निम्ति र अराजक समूहको समूल नष्टका निम्ति निर्णायक लडाइँ लड्नुपर्ने बेला आएको छ । त्यसका निम्ति युवाले आफूलाई रहेक रूपमा तयार पार्नुपर्छ ।
राजनीतिक, साँस्कृतिक, सामाजिक, आर्थिक र प्राविधिक रूपान्तरणका अभियानहरूको नेतृत्व पहिलो पुस्ताका नेताहरूबाट सम्भव छैन । प्रचण्ड नेतृत्वको सरकारले जतिसुकै काम गरेपनि ०८४ को चुनावमा माओवादी केन्द्रलाई जनताले पहिलो पार्टी बनाउनेवाला छैनन् । आजका दिनमा जनतामा प्रचण्ड सरकारप्रति भयंकर उत्साह देखिँदैन । बरु शंकाहरू पोखिरहेको सुनिन्छ । भ्रष्टाचारका ठूला घटनामा संलग्न नेताहरूमाथि छानबिन हुन्छ कि हुँदैन ? आज जनता यो पर्खाइमा छन् ।
अन्त्यमा, कम्युनिष्ट र कांग्रेसका सामु राप्रपा र रास्वपाले केही नयाँपन देखाएका छन् । ४० वर्ष मुनिका युवालाई केन्द्रीय टिममा सहभागी बन्न आग्रह गरिरहेका छन् । यता, कम्युनिष्ट पार्टीमा ४० वर्ष पुग्नै लागेका सक्षम युवाहरूलाई तिम्रो पालो आएको छैन भन्ने गरेको सुनिन्छ ।
कम्युनिष्ट—कांग्रेसभन्दा कम खराबका रुपमा रास्वपाका नेताहरूलाई चित्रण गरिरहेका छन् । यस्तो बेला खासगरी कम्युनिष्ट पार्टीको नेतृत्व रुपान्तरण र पुस्तारणको दिशामा अघि बढ्न सक्यो भने क्रान्तिकारी वैचारिक आन्दोलन बलियो बन्छ ।
कम्युनिष्ट पार्टीभित्र व्यापक बन्दै गहिरहेको पुँजीवादलाई समयमै पहिचान गरेर अघि बढ्नसके मात्र समाजवादी आन्दोलनको नाराले सार्थकता पाउँछ । समाजवादी क्रान्तिलाई धनभूति पार्न क्रान्तिकारी पार्टीको खाँचो पर्छ । त्यस्तो पार्टी निर्माणमा पहिलो पुस्ताको त्याग, दोस्रो र तेस्रो पुस्ताको सक्रिय सहभागिता पहिलो सर्त हो ।