Logo
Logo

प्रेमविधान


3.2k
Shares

विचलन यस्तरी बढ्यो यहाँ
आधुनिक सम्बन्धहरूमा
देवता स्वयं धर्तीमा ओर्लेर
प्रेमको विधान लेख्न तम्सिए
र सुझावहरूको आह्वान गरे

कुना कुनाबाट डाकिए शास्त्रीय प्रेमीहरू
डाकिए आधुनिक प्रेमी प्रेमिकाहरू
डाकिएँ म
डाकियौँ सबै प्रेम गर्छु भन्नेहरू

अहो ! हैरान छु म
कस्ता कस्ता प्रेमीहरू पाइए !
मैले प्रेमको दीपमा
मुस्कानको दान गरेर सबले
प्रेमको उज्यालो थपौँ भने
उनीहरूले अँध्यारो अझै थपेर वातावरणमा
अन्धकार बढाउनु पर्छ भने
अन्धकार बढेमा उज्यालो आफै
चहकिन्छ भने ।

हैरान छु म
कस्ता कस्ता समीकरणहरू देखिए !
अल्पमतमा परे मुना मदनहरू
लैला मजनु र रोमियो जुलियटहरू
बहुमतमा भारी देखिए
यता ढल्के पनि मनै साट्नेहरू
उता फर्के पनि प्रेमै गर्नेहरू

हैरान छु म
सबैले आफ्नै भावना मात्रै
प्रेम भएको दाबी गरे
र आफ्नै प्रेम नै सर्वोत्कृष्ट हो भने
केही सहमति नजुट्ने देखेर ईश्वर
यतिकै छोडेर फर्केर गए

त्यो दिनदेखि यता
लेखिएन प्रेमको कुनै विधान
त्यसैले त
जसलाई आफूले प्रेम गरेको हो
उसैसँग मिलेर लेख्नु पर्नेछ
मानव जातिले आफ्नो आफ्नो प्रेमविधान
पारस्परिक प्रेमविधान

र त्यसो भइरहँदा
हुन सक्नेछ कहिलेकाहीँ
कुनै बैंसालु लाहुरेले गरेको रंगिन ठट्टा
कसैको लागि साँचो प्रेम
र हुन सक्नेछ कहिलेकाहीँ
कुनै कविले गरेको वर्षौँको गहिरो माया
केवल एक कविता ।

-सुरेश राई (खोटाङ, हाल, दक्षिण कोरिया)

प्रतिक्रिया दिनुहोस्