- शम्भु श्रेष्ठ
सरकारले गरेको राम्रो कामको पनि प्रचार नभएकोमा प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित हुनुहुन्छ । सरकारले गरेका राम्रो कामलाई राम्रो भन्नु र नराम्रो गरेको कामलाई नराम्रो भन्नु मिडियाको धर्म हो । तर, सरकारले गरेका राम्रो कामलाई नराम्रो कामले पुरिँदा प्रधानमन्त्री चिन्तित बन्नुभएको हो । सरकारले जतिसुकै राम्रो काम गरे पनि एउटा मात्रै नराम्रो कामले सरकारको आलोचना हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । मिडियाको धर्म नै हो सरकारले गरेका नराम्रा कामहरु जनतासमक्ष ल्याउने । मिडियाले ल्याएका कुरा ठिक हुन् कि बेठिक हुन् भन्ने छुट्याउने जनता हुन् । मिडियालाई चौथो अंग भनिए पनि मिडिया आफैँमा केही होइन । मिडियाले जनताको भाषा बोल्ने हो । सरकार भनेको तिनै जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । मिडिया भनेको जनता र सरकारबीचको पुल हो । पुल जति बलियो हुन्छ सरकार र मिडियाको भूमिका त्यत्ति नै शक्तिशाली हुन्छ ।
तर, शक्तिमा पुग्नेहरुले मिडिया बलियो भएको हेर्न चाहान्नन् । चाहे नेकपाका अध्यक्ष केपी शर्मा ओली हुन् वा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प । मिडियाले उनीहरुले गरेको पदीय दुरुपयोगबारे कलम चलाउनासाथ मिडियाविरुद्ध खन्निहाल्छन् । नेपाल ट्रष्टको जग्गाका विषयमा गत शनिबार बालुवाटारमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिनु जरुरी थिएन । नेपाल ट्रष्टका अध्यक्ष रक्षामन्त्री ईश्वर पोखरेलले संसद्मै त्यसको जवाफ दिइसकेका छन् । नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलन गरेर घटनाको वास्तविकता जनसमक्ष ल्याइसकेका छन् । मिडियाको प्रश्न के मात्रै हो भने एउटा व्यावसायिक संस्थाका लागि ऐन, कानूनै परिवर्तन गर्नु नैतिकताको हिसाबले कति ठिक, कति बेठिक भन्ने मात्रै हो । आफूले गरेका गल्तीलाई पनि ‘गोयवल्स’ शैलीमा ठिक हो भनेर भन्ने हो भने त्यसका विरुद्ध मिडिया चुप लागेर बस्दैन ।
भारतीय नाकाबन्दीताका नेपाली जनता चरम निराशामा थिए । नाकाबन्दीले देश आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दियो । त्यतिबेला प्रधानमन्त्री ओलीले मुर्छित सपना ब्युँताए । अब नेपाली जनताले काँधमा ग्यासको सिलिण्डर बोक्ने दिन गए भने । केरुङ–काठमाडौँ–पोखरा–लुम्विनी रेल कुद्छ भने । त्यति मात्र होइन अब नेपालको आफ्नै पानीजहाज हुन्छ भने । पानीजहाजको कार्यालय उद्घाटन पनि गरे । प्रधानमन्त्रीजस्तो व्यक्तिले भनेपछि नपत्याउने कुरै भएन । तर, त्यतिबेला प्रधानमन्त्रीले बोलेका कुरा कति कार्यान्वयन भए, कति भएनन् भनेर जनताले मूल्यांकन निर्वाचनमा गर्लान् नै । त्यसैका आधारमा जनताले ‘भोट’ दिने हो । यस कुरामा प्रधानमन्त्रीले मलाई उडाउन कागजको पानीजहाज नै बनाएका थिए भनेर जनतालाई व्यंग्य गर्नुको कुनै अर्थ छैन । जनताले त कुनै सामुद्रिक बन्दरगाहाबाट कोशी नदीसम्म मालवाहक पानीजहाज चल्ने प्रतिक्षा गरेका थिए । नारायणीको पानीजहाजको सपना जनताले देखेका थिएनन् । नेपाल भूपरिवेष्ठित देश भएकोले नेपालका लागि नारायणी नदीमा चल्ने जहाजको भन्दा कलकत्ता अथवा अरु कुनै बन्दरगाहबाट नेपालसम्म आइपुग्ने पानीजहाजको खाँचो परेको हो । जसले गर्दा ढुवानीमा सहज र आयात निर्यातमा सरलता हुने थियो ।
हो, यस्तै हल्का फुल्का कुराले गर्दा प्रधानमन्त्रीको आलोचना बढेको छ । भनिन्छ, आफ्नो आङमा भैँसी नदेख्नेले अरुका आङमा जुम्रा देख्छ । मिडिया त्यही कुरा हो, जसले भैँसी र जुम्रा छुट्याउँछ र मानिसलाई भ्रमबाट मुक्त पार्छ । त्यसैले सत्य कुरा लेख्दा कोही आत्तिनु पर्दैन । सत्य कुराले नै देश र जनताको भलो गर्ने हो । भ्रम र असत्य कुराले आफैँलाई समाप्त पार्छ । सत्ताको बार्दलीमा बसेर जे देख्यो, त्यो सत्य नहुन पनि सक्छ । सत्य कुराको पहिचान गर्न वास्तविकतामा ओर्लनु पर्छ ।