काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग कमजोर नेतृत्वका कारण ओरालो लागेको छ । मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएपछि एकातर्फ सूचना संकलन कमजोर भएको छ भने अर्काेतर्फ कर्मचारी सरुवा बढुवामा मनोमानी बढेको छ ।
विमानस्थलबाटै ठूलो मात्रामा सुन तस्करी हुँदा पनि गुप्तचरले केही जानकारी नपाउनुले यसमा विभागको अवस्था प्रष्ट हुन्छ । गुप्तचरीका लागि आएको पैसा चिफले खल्तीमा हाल्ने प्रवृत्तिले यस्तो समस्या आएको विभागका कर्मचारी बताउँछन् ।
हालैको सरुवा पनि विभागमा असन्तुष्टि देखिएको छ । एकै व्यक्तिलाई तीन पटकसम्म एउटै कार्यालयको प्रमुख बनाइएको छ । सहअनुसन्धान निर्देशक(एसएसपी) भूमी पाठकलाई ललितपुर पठाइएको हो । उनी त्यसभन्दा अघि दुई पटक त्यहाँ बसिसकेका अधिकृत हुन् । त्यसअघि काठमाडौं र विमानस्थलमा पनि बसेका थिए । सधैं उनी इन्चार्जमा मात्र बस्दै आएका छन् ।
त्यस्तै, उपअनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिनालाई दोस्रो पटक भक्तपुरमा पठाइएको छ । उनी थापाका निकटस्थ अधिकृत मानिन्छन् । भक्तपुरबाट सरुवा भई उनी प्रशासनमा बसेका थिए । भक्तपुरमा कार्यरत प्रकाश आचार्यलाई १० महिनामै हटाइएको छ ।
त्यस्तै, सिन्धुलीमा मुकुन्द खड्कालाई पठाइएको छ भने मकवानपुरमा प्रज्वल खड्का । सुरेन्द्र कोइराला र सीता पोखरेललाई पनि जिल्ला इन्चार्जमा पठाइएको छ । थप केही जिल्लामा हेरफेरको तयारी भइरहेको छ ।
सरुवामा कार्यक्षमताको कुनै मतलब नगरिएको विभागका अधिकारी बताउँछन् । चाकडी र नेताको सिफारिसलाई मात्र आधार बनाउँदा विभागको सूचना संयन्त्र कमजोर बनेको छ । कमजोर चिफका कारण राष्ट्रिय सुरक्षामै जोखिम बढेको छ ।