काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए ।
कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मार्कामा परेको अध्यक्ष ढकालले बताए ।
निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्य वृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको उनले बताए ।
नेपालको तीन दिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवर्द्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताइन् । पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो।
महासंघले साना उद्यमीका लागि सुरू गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धन लगायतका विषयको नेतृत्व गर्छिन् ।
भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए।
महासंघका उपाध्यक्ष द्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवर्द्धन आवश्यक रहेको बताए।
महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए।