Logo
Logo
कविता

माफ गर है


लाजेहाङ साम्ब्यु

48.5k
Shares

माफ गर है ।
मभित्र म खोज्दै छु ।
म जोभान सिङ खोज्दै छु ।
मैले जोभान खोज्दा,
तिम्रो मुटु च्वास्स दुख्छ ।
म इतिहासको गर्भमा पुग्दा,
तिमी टाढा महसुस गर्छौ ।
हिजो हराएको जोभान,
आज बैँस भएर,
निस्कन खोज्दा,
तिमी आफै काम्दै छौँ ।
मैले च्याब्रुङको ताल पिट्दा,
तिम्रो मुटुमा ढ्याङ्ग्रो बज्छ ।
मैले सुसेल्दा,
तिमी बहकिन्छौ ।
यस्तो पिरतीसँग,
कहिलेसम्म यात्रा गर्ने हो ?

अहँ मैले,
अझै परिकल्पना गर्न सकेको छैन ।
तिमी कहाँ पुग्छौं ।
म कहाँ पुग्छु ।
अब भेट हुने संगमस्थल खोजौं ।

मैले लखन थापा खोज्दा ।
तिमी बलभद्र देखाउँछौँ ।
मैले इमबिरी याङधाङ्वा रोज्दा,
तिमी कोशी देख्छौ ।
मैले मुकुम्लुङ देख्दा,
तिमी पाथीभरा पुकार्छौ ।
मैले तिम्बुङ वरक देख्दा,
तिमी विष्णु पोखरी देख्छौ ।
यस्तो सम्बन्ध,
कहिलेसम्म टिक्छ ?
अहँ मैले,
अझै सोच्न सकेको छैन ।

म आज श्रीजङ्गा खोज्दै छु ।
आज म,
म आफै खोज्दै छु ।
के मैले,
म आफै खोज्नु,
लोकतन्त्र होइन त ?
यदि होइन भने,
अब म तिमीलाई खोज्छु ।
तिमी को हौ ?
मैले पता लगाउनै पर्छ ।
जसरी,
कोलम्बसले अमेरिका पता लगाए ।
जसरी,
द्रव्य शाहले,
लिगलिग कोट पता लगाए ।

अब सुरु गरौँ ।
अब सुरु गरौँ ।
तिमी को हौ ?
अनि,
अनि, म को हो ?
अब तिमीसँग,
मैले सम्बन्धको चर्चा गर्ने आँट गर्दै छु ।
त्यो सम्बन्ध,
सुमधुर हुन,
तिमी मभित्र छिर्नु पर्दछ ।
अनि म पनि,
अब त,
तिम्रो छुवाछूतले,
तिमीले सोचेको शिल्पी,
मभित्र छिर्दा,
तिमी घिनाउने,
तिम्रो संस्कारसँग,
आजित भै सके,

मैले खोज्ने,
भक्तपुरे आँखी झ्यालहरू,
मैले खोज्ने,
दरबार भित्रको कङ्कालहरू,
मैले खोज्ने,
मेरो लिपि र भाषाहरू
मैले खोज्ने ,
ती मासिन्याहरू,
मैले खोज्ने,
ती कमेरोले पोतिएको घरमा,
दश औँला रगतको हाते छापहरू,
मैले खोज्ने,
कमैया र हलियाहरू,
अनि अछुत बनाइएका वैज्ञानिकहरू,
अब,
मुन्धुम र ख्यालीसँग,
एकै चोटि सोध्नेछु ।

उफ,
उफ, मेरो खोजाइसँग,
म आफै रोमान्चित छु ।
आखिर,
तिमीले खोज्दा अब,
अब,
तिम्रो टुप्पी पनि भेट्दैनौ ।
जरा त खोइ ?
आफै खोज्नु ।
सहयोगी बनेर साथ दिउँला ।
एक चोटि गहिरिएर हेर्नु ।
तिमी कहाँ छौ ।

म,
मनिल र माङतोक खोज्दै छु ।
जीवनचक्र याद होला ।
सजीव वस्तुको मात्र,
जीवनचक्र बुझेर गल्ती नगर्नु ।
म जोभान सिङ खोज्दै छु ।
तिमीले,
तिमीलाई,
साटेको ज्ञान सत्तासँग,
मेरो वस्तु सत्ता साटेपछि,
अब म,
मभित्र म खोज्दै छु ।
मेरो सभ्यताको जरा खोज्दै छु ।
तिमीलाई लागेको ज्ञान सत्ताभित्र,
म,
म तिमी देख्दिन ।
तिमीलाई लागेको बस्तु सत्ताभित्र,
म भेट्दिन ।

अब,
तिम्रो ज्ञान सत्ताभित्र,
तिमी खोज
मेरो ज्ञान सत्ताभित्र,
मुन्धुम खोज्दै छु ।
सहयात्री बनौँ ।
तिमीले के भूल र्गयौँ ।
मैले सम्झाए ।
मलाई के भुलायौ
तिमीले बिर्सियौ ।
म सम्झाउँदै छु ।

अब म,
पुर्खा खोज्दै छु ।
मभित्र म खोज्दै छु ।
माफ गर है ।
अब मभित्र,
म खोज्दै छु ।
त्यो बेला तिमी,
कहाँ हुनेछौ ।
म कहाँ हुनेछु ।
माफ गर है ।

प्रतिक्रिया दिनुहोस्