काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष दुई अर्ब नौ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यस वर्ष २५.१३ प्रतिशतले बढेको हो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा मनग्य वृद्धि भएको बैंकले विवरण सार्वजनिक गरेको छ । यो बैंकले गएको वर्षको अन्त्यसम्म ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानीबापत चार अर्ब ६५ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन मुनाफा २७.९५ प्रतिशतले वृद्धि भएको छ । यसले पनि बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।
खराब कर्जा करिब १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको अन्त्यसम्म ०.३३ प्रतिशत मात्र खराब कर्जा भएकामा गएको वर्षको अन्त्यसम्म १.३० प्रतिशत पुगेको छ । एक वर्षको अन्तरालमा खराब कर्जा ०.९७ प्रतिशत विन्दुले वृद्धि भएको छ ।
गएको आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब २० करोड ९६ लाख रुपैयाँ छ । यसानुसार बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २४ करोड ४४ लाख रुपैयाँ थियो । यसका आधारमा बैंकले सेयरधनीलाई लाभांश दिएको थियो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।
बैंकले गएको वर्षको अन्त्यसम्म एक खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगनी अघिल्लो वर्षको तुलनामा साढे ६ प्रतिशतले बढेको छ । निक्षेप संकलन साढे ११ प्रतिशतले बढेको छ । चुक्ता पुँजी १२ अर्ब ४६ करोड एक लाख रुपैयाँ रहेको छ ।