विचार, आदर्श र सिद्धान्तको आलोकमा कम्युनिष्ट छवि बनाएका नेतामा नैतिक विचलनले सीमा नाघ्दा कम्युनिष्ट पार्टीभित्र विकृति र विसंगति झांगिन्छ । र, यो क्रम नरोकिने हो भने कम्युनिष्ट आन्दोलन विघटन हुनुको विकल्प हुँदैन । किनकि, कम्युनिष्ट पार्टीहरू भ्रष्टाचारी उत्पादन गर्ने भट्टी होइनन् ।
गरिब सर्वहारा जनतासँग उस्तै हैसियतमा सहर पसेका नेताको जीवनशैलीमा क्षणमै अकल्पनीय परिवर्तन आयो । झुपडीबाट उठेका नेताहरूले बिना कुनै इलम दशकमै सहरमा गगनचुम्बी महल बनाए । त्यो अकल्पनीय आर्थिक रूपान्तरणको राज खुल्न थालेको छ । भ्रष्टाचार र आर्थिक अपचलन जस्ता अपराधका पछिल्ला घटनाहरूको जरो कम्युनिष्ट नेताहरूसम्मै पुग्छ ।
कम्युष्टि नेताले किन सर्वहारा वर्गसँग नङ र मासुको सम्बन्ध तोडे भन्ने जिज्ञासाहरू अब सहजै मेटिन थालेका छन् । दलाल पुँजीपति र भ्रष्टहरूसँग सम्बन्ध विस्तार भएसँगै कम्युनिष्ट नेताका लागि सर्वहारा वर्ग प्राथमिकतामा पर्ने कुरै भएन । भ्रष्टहरूबाट सगुन लिएका नेताहरू भ्रष्टहरूकै सेवामा तल्लीन हुँदा गरिब दुखीको सपनामा तुसारो पर्नु स्वाभाविक हो ।
आफूलाई सर्वहारा वर्गको नेता ठान्नेहरूको गगनचुम्बी महलमा गरिब दुखीले पाइला टेक्न पाउँदैनन् । तर, भ्रष्ट र तस्करहरू ज्वाइँ मेजमानी पाउँछन् । नेताका बिस्तरा र भान्साहरूमा उनै भ्रष्ट र तस्करहरू फनफनी नाचिरहेका छन् । उनै भ्रष्टहरूको अपराध दुनियाँमा नेताहरूले आफूलाई समाहित गरेका छन् । कम्युनिष्ट नेताहरू ‘क्राइम रोमान्टिसिजम’मा रमाइरहेका छन् । र, सिंगो देशलाई अपराधको दुनियाँमा पुर्याएका छन् ।
कम्युनिष्टहरू भ्रष्टाचार र अपराधमा कतिसम्म लिप्त छन् भन्ने पछिल्लो उदाहरण नक्कली भुटानी शरणार्थी प्रकरण हो । एमाले नेता टोपबहादुर रायमाझी छोरासँगै जेल गए । सोही काण्डमा अर्का एमाले नेता रामबहादुर थापा छोरा र श्रीमतीसहित मुछिएका छन् । यो प्रकरणमा केपी शर्मा ओली, श्रीमती राधिका शाक्य र उनका नजिकका व्यक्ति जोडिएका छन् ।
नक्कली शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा पनि कम्युनिष्ट नेता र उनीहरूको परिवार नै सामेल भएको प्रमाणित भइसकेको छ । छोरासहित ईश्वर पोखरेल र विष्णु पौडेलको यो प्रकरणमा नाम जोडियो । विष्णुका छोराले जग्गा फिर्ता गर्दै उक्त कार्यमा आफू र बुबाको संलग्नता पुष्टि गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणपछि सुन प्रकरणमा पनि कम्युनिष्ट नेताकै कनेक्सन लुकेको छैन । सय किलो सुन प्रकरणमा पक्राउ परेकाहरूको राजनीतिक पहुँच र कम्युनिष्ट नेताहरूसँगको सम्बन्ध छरपस्ट छ । सुन प्रकरणमा पक्राउ परेका सन्दिग्धले निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन र माओवादी नेता वर्षमान पुनसँग कतिसम्मको निकट सम्बन्ध बनाएका रहेछन् भन्ने थप पुष्टि हुनुपर्ने छैन ।
सय किलो सुनकाण्ड अगाडि सुनसँगै जोडिएको ‘भेपकाण्ड’ बाहिरिएको थियो । भेप बनाएर नेपालमा तस्करीको सुन ल्याउने कार्यमा माओवादी नेता कृष्णबहादुर महरा र छोरा राहुल महराको संलग्नता लुक्न सकेन । त्यसअघिको सेक्युरिटी प्रेसको ७० करोड काण्डमा एमाले नेता गोकुल बास्कोटा संलग्न भए । यति र ओम्नी काण्डहरूमा ईश्वर पोखरेल लगायतका कम्युनिष्ट नेताहरूकै नाम जोडियो । छोपछाप पारिएको जलहरी काण्डमा एमाले अध्यक्ष ओलीकै नाम जोडियो । सुन काण्डमा वामदेव गौतम बदनाम भए ।
विकृतिविरुद्ध फलामे अनुशासन कम्युनिष्ट आचरणको महत्त्वपूर्ण कडी हो । विकृतिविरुद्ध उभिन नसक्ने कम्युनिष्ट हुँदैनन् । आफूलाई विकृतिमा समाहित गराउनेहरू कम्युनिष्ट होइनन् । विडम्बना ! नेपालको सन्दर्भमा आफूलाई कम्युनिष्ट भन्ने नेताहरू अपवाद बाहेक विकृतिको पर्याय बनेका छन् । कम्युनिष्ट नेताको आचरण हेर्दा स्वभाविक ‘नेपालमा पनि कम्युनिष्ट छन् र ?’ भन्ने प्रश्न उब्जन्छ ।
कम्युष्टिले निजी वा व्यक्तिगत सम्पत्तिको परिकल्पना गर्दैनन् । राष्ट्रिय पुँजीको परिकल्पना गर्ने कम्युनिष्टहरू आफूसँग भएका सम्पत्ति पनि राष्ट्रियकरण गर्छन् । नेपालका केही कम्युनिष्ट नेताले विगतमा सारा सम्पत्ति राष्ट्रियकरण गरेको इतिहास छ । तर, सारा सम्पत्ति राष्ट्रलाई बुझाएकाहरू आज एकाएक नवधनाढ्यताका रूपमा उदाएका छन् । अनैतिक गतिविधि नगरेको भए यो कसरी सम्भव हुन्थ्यो ?
भ्रष्टाचारमा गैरकम्युनिष्टलाई उछिन्दै गएका कम्युनिष्टहरू आफू मात्रै संलग्न छैनन् । परिवारलाई नै भ्रष्टाचारमा संलग्न गराएका छन् । घटनाहरू हेर्दा कम्युनिष्ट नेताहरूको एक मात्र उद्देश्य भ्रष्टाचारबाट अथाह कमाउने देखिन्छ ।
विगतमा कांग्रेस नेताहरू खुमबहादुर खड्का, चिरञ्जीवीकुमार वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशीहरू एक्लै जेल गएका थिए । तर, कम्युनिष्ट नेताहरू छोरा र परिवारका सदस्यसहित जेल जान थालेका छन् ।
भ्रष्टाचारमा परिवारलाई नै संलग्न गराएर कम्युनिष्ट नेताले चलाइरहेको ‘अपराधको साम्राज्य’ले डरलाग्दो संकेत गर्छ । यो प्रवृत्तिले सिंगो समाजलाई गलत बाटोमा डोर्याउन खोजेको देखिन्छ । परिवार नै भ्रष्टाचारमा संलग्न भएपछि अपराध गरेबापत भोग्नुपर्ने सामाजिक दण्ड कसैले भोग्नु पर्दैन । कसैलाई केही नहुने भएपछि परिवारका सबै सदस्य मिलेर अपराध गर्न थाल्ने हो भने देश सामान्य अवस्थामा रहँदैन ।
उच्च महत्वकांक्षा कारण समाज निस्कनै मुस्किल पर्ने गरी अनुचित आर्जनको दलदलमा फसेको छ । वैधानिक तवरबाट सीमित आर्जनमा चित्त नबुझाउनेहरूको संख्या बढ्दै गएको छ । स्वाभाविक प्रक्रियाबाट दैनिक आवश्यकता पूरा गर्नेभन्दा पनि अनैतिक कार्यबाट असीमित कमाउन खोज्नेहरूको संख्या बढेको छ । समाजमा हुर्कँदै गएको असीमित चाहनाको जीवनशैली र भ्रष्टाचारका पछिल्लो तथ्याङ्कहरूले हामीलाई गम्भीर मोडमा पुर्याएको छ ।
व्यक्तिलाई समाज र समाजलाई राजनीतिले नेतृत्व गर्छ । र, राजनीतिलाई राजनीतिक नेतृत्वले नेतृत्व गर्छन् । समाज सञ्चालनको यो प्रक्रियामा सबैभन्दा जिम्मेवार राजनीतिक नेतृत्व हुनुपर्छ । किनकि, नीति नियम बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारीमा पनि राजनीतिक नेतृत्वसँगै रहन्छ । यस आधारमा राजनीतिक नेतृत्व सबैभन्दा इमानदार हुनुपर्छ । राजनीतिक नेतृत्वले इमानदारीताको सीमा नाघ्दा विकृतिले राज गर्छ । अहिले हाम्रो देशले भोगिरहेको नियती यो नै हो ।
राजनीतिक नेतृत्व इमानदार भइदिएको भए आज देश यो अवस्थामा पुग्ने थिएन । व्यक्ति, समाज र राष्ट्र यति धेरै बदनाम हुनुपर्ने थिएन । यति धेरै पीडावोध कसैले गर्नुपर्ने थिएन । तर, राजनीतिक नेतृत्वको नाभि भ्रष्टाचारजन्य अपराधसँग जोडिएको छ । त्यो अपराधमा ‘जनताको सियो नै किन नहोस् फिर्ता गर्नुपर्छ’ भन्ने कम्युनिष्ट मान्यताबाट प्रेरितहरू सामेल नभएको भए हरेक दिन भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने परिस्थिति नै बन्ने थिएन ।
भ्रष्टाचार गर्ने छुट कसैलाई हुँदैन । सत्य के पनि हो भने भ्रष्टाचारको समूल अन्त्य आजको युगमा कतै पनि सम्भव छैन । तर, न्यूनीकरण गर्न सकिन्छ । बसैले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन सक्ने हो भने आजको हालतबाट पनि देशलाई निकास दिन सकिन्छ । भ्रष्ट देशको रूपमा लागेको कालो दाग मेटाउन सकिन्छ । तर, यो काम कम्युनिष्ट विचार, आदर्श र सिद्धान्तको अधीनमा मात्र सम्भव छ ।
कम्युनिष्ट विचार, आदर्श र सिद्धान्त क्रान्ति हो । क्रान्ति अर्थात्, सधैँ विकृति–विसंगतीविरूद्ध उभिने कठोर र प्रगतिशील प्रतिज्ञा । नेपाल र विश्वका कुनै पनि कम्युनिष्ट आन्दोलन सत्ताको भागबन्डाका लागि भएको थिएन । सत्तामा पुगेर उत्पीडित वर्गको पक्षमा काम गर्ने नीतिले कालान्तरमा कम्युनिष्ट पार्टी सत्ताका साझेदार हुनु स्वभाविक हो । यसको मतलब सत्ताकै विकृत चरित्रमा आफूलाई रूपान्तरण गर्नु होइन ।