पन्द्र हजार लगानीमा सुरु गरिएको व्यवसायी करोडौंको उद्योग बन्छ भनेर सायदै सोचिन्छ । तर, मिहिनेत र परिश्रम गरेमा सम्भव हुँदोरहेछ । यसैको उदाहरण हो, ‘द हाइल्याण्ड आर्ट फेसन डिजाइनिङ एण्ड ट्रेनिङ’ । २०६४ सालमा १५ हजार ऋण काढेर कल्पना योङहाङ लिम्बूले ‘द हाइल्याण्ड आर्ट फेसन डिजाइनिङ एण्ड ट्रेनिङ’ नाममा ढाकाको व्यापार सुरु गरेकी थिइन् । अहिले उक्त ढाका उद्योगको चुुक्ता पुँजी ८ करोडभन्दा माथि पुगेको छ । यसै उद्योगमार्फत कल्पना सफल उद्यमी बनेकी छन् ।
ढाकाविद्समेत रहेकी कल्पना योङहाङलाई सरकारले ‘सफल महिला उद्यमी’को प्रमाणपत्र दिइसकेको छ । एउटा हाते तानबाट ढाका व्यवसायी सुरु गरेकी कल्पनासँग हाल दुईभन्दा बढी तान छन् । जहाँ अहिले पनि सयभन्दा बढीले अप्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नो सफलताबारे कल्पना भन्छिन्, ‘यो प्रोपर्टी भनेको मेरो मिहिनेत र संघर्षको फल हो । यहाँसम्म आइपुग्न रगत पसिना बगाएकी छु ।’ पाँचथरको थर्पुमा जन्मेकी ढाकाविद् एवं उद्यमी कल्पना योङहाङ लिम्बूसँग एमपी सुब्बाको जम्काभेट :
ढाका पहिरनको बजार कस्तो छ ?
कुनै समय ढाकालाई आदिवासी जनजातीको पहिरन भनिन्थ्यो । ढाकालाई त्यसरी सोच्नु गलत थियो । बल्ल अहिले ढाका नेपाली पहिरन हो भन्ने समाजले बुझ्न थालेको छ । युवापुस्ता ढाका पहिरनमा आकर्षित हुन थालेका छन् । साथै, ढाका पहिरनले बजार ओगट्न थालेको छ । अहिले हाते तानबाट बुनेको ढाका अन्तर्राष्ट्रिय बजारमा जाने थालेको छ । जसले नेपाली उत्पादनको प्रवद्र्धन तथा नेपालको समेत पहिचान बनेको छ ।
ढाका व्यवसायी सुरु गर्नुभएको कति भयो ?
ढाका कपडा र पहिरनलाई व्यवसायीरुपमा सुरु गरेको दुई दशक भयो । २०६४ सालमा ‘द हाईल्याण्ड आर्ट फेसन डिजाइन एण्ड ट्रेनिङ’ कम्पनी दर्ता गरेर ढाका व्यवसायी सुरु गरेकी हुँ । त्यसअघि पनि ढाकाबारे थाहा थियो । बाजेबोज्यूको पालादेखि नै ढाका बुन्दै आएकी हु्ँ । पछि आएर यसलाई व्यवसायिकरुपमा अँगालेकी हुँ ।
ढाका व्यवसायी गर्ने सोच कसरी आयो ?
ढाका व्यवसायी गर्ने प्रेरणा आमाबाट पाएकी हुँ । आमाकै प्रेरणाले काठमाडौंको जोरपाटीमा आफू अनूकुल एउटा तान राखेर व्यवसायी सुरु गरेकी थिएँ । तर, त्यो बेला यसरी ढाका कपडा र परिहनले फेसनको ट्रेण्ड लिन्छ भनेर सोचेकी थिइनँ । तर, मिहिनेत गरेपछि हुनेरहेछ ।
कति लगानीमा ढाका व्यवसायी सुरु गर्नुभएको थियो ?
सुरुमा १५ हजार लगानी गरेकी थिएँ । त्यो पनि म सँग थिएन । ऋण काढेर एउटा तानबाट ढाका व्यवसायी सुरु गरेकी हुँ । ढाका पहिरन लिम्बू समु्दायको संस्कृति र मुन्धुमसँग जोडिएकाले हुनाले पनि ढाकाको संरक्षण र प्रववद्र्धन गर्ने उद्देश्यले ढाका व्यवसायी थालेकी हुँ ।
तपाइँको ढाका उद्योगको चुक्ता पुँजी कति पुग्यो ?
अहिले ८ करोडभन्दा माथि पुग्यो । हाल एक सयभन्दा बढी तान छ । लकडाउनअघिसम्म दुई सय जनालाई रोजगारी दिएकी थिएँ । फेरि तान बढाउँदैछु ।
पन्द्र हजारमा सुरु गरेको व्यवसायी आठ करोड पुग्यो ?
यो मेरो मिहिनेत र संघर्षको फल हो । म ढाका उत्पादनसँगै ढाका कपडाको प्रवद्र्धन गर्न आफैं पहिरन डिजाइनिङ गर्दै आएकी छु् । एक किसिमले भन्ने हो भने मेरो जीवन नै ढाकामा समर्पित गर्दै आएकी छु ।
तपाइँको ढाका बुटिकको व्यापार कस्तो छ ?
ठीकै छ । कोरोना महामारीका बेला केही व्यापार खस्केको थियो । अहिले पुनः व्यापार बढ्दै छ । बुटिक पनि द हाईल्याण्ड आर्ट फेसन डिजाइन एण्ड ट्रेनिङ अन्तर्गत नै हो । सुरुमा बुटिक घरमै राखेकी थिएन । अहिले चाबहिल चुच्चेपार्टीमा बुटिकको शोरुम राखेकी छु ।
तपाइँले ढाका व्यवसायी सुरु गर्दा अरु पनि थिए ?
व्यवसायी रुपमा थिएन । फाट्टफुट्ट थियो । त्यो समयमा ढाका कपडा र परिहनको व्यापार गर्न निकै गाह्रो थियो । सुरुमा ढाकाको कपडा लिएर बजारमा बिक्रीका लागि जाँदा कपडा फ्याँलिएको नमिठो अनुभव म सँग छ । पछि, तिनै मानिस सामानको अर्डर आए । पहिला मैले बजार खोज्दै भौतारिनुप¥यो । तर, अहिले उनीहरु खोज्दै आउँछन् ।
तपाइँलाई पहिलो ढाकाविद् पनि नि, होइन ?
सबै सम्ुदायमा त भन्दिनँ । तर, लिम्बू समुदायमा चाहिँ म पहिलो ढाकाविद् हुँ । डाकाविद् हुन सजिलो होइन । मैले ढाकाबारे लगातार १० हजार घण्टा अध्ययन गरेकी छु । त्यसमा प्राक्टिली र थ्यौरी दुवै पर्छ ।
आफ्नो व्यवसायीको सफलताबारे के भन्नुहुन्छ ?
नेपाली उत्पादनलाई मन पराइन थालिएको छ । मेरो मिहिनेतको कदर हुन थालेको छ । साधारण क्याजुयल ड्रेसदेखि, पार्टी वयेर, कल्चरल तथा फसेनेबल ड्रेसहरु विदेशमा बस्ने नेपालीले रुचाएका छन् । मेरो कला, सीप र सिर्जनालाई मनपराएर माया गरिदिनु भएको छ । यसैमा खुसी र आभारी छु ।
नेपाली उत्पादन ढाकाको प्रवद्र्धन गर्दै आउनुभएको छ । राज्यबाट सहयोग पाउनुभएको छ ?
अहिले आर्थिक सहयोग एक पैसा पाएकी छैन । केही मानसम्मान पाएकी छ्ु । सन् २००९ मा ‘उत्कृष्ट महिला उद्यमी’का रुपमा राज्यले सम्मान गरेको थियो । त्यस्तै, चौथो जनसेवा पदकबाट राज्यले विभूषित गरेको छ ।
यस्तो कार्यमा सरकारले अनुदान दिन्छ रे ?
सरकारले अनुदान दिन्छ भन्नेसम्म सुनेकी छु । तर, कहाँ पाइन्छ थाहा छैन । कस्ताले पाउँछन्, त्यो पनि थाहा छैन । सहुलियत कर्जाको कुरा छ, जुन त्यो आर्दशका कुरा हुन् । ऋण लिनसमेत सहज छैन । कपास विकास बोर्ड छ, काम छैन । ढाका बुन्नलाई कपास भारतबाट आयात गर्नुपर्छ । तर, अहिले सरकारले कपासमा पनि कर लगाएको छ । त्यसमा मेरो आपत्ति छ ।
ढाका व्यवसायीमा चुनौती कतिको छ ?
विश्व बजारमा थरिथरिका वस्तुले प्रवेश गरिरहेको छ । फेसन बजारमा फस्टाइरहेको छ । जसले बजारमा प्रतिस्पर्धा बढेको छ । त्यसो त मैले द हाइल्याण्ड आर्टको ट्रेडमार्क लिइसकेकी छु । तैपनि कतै डुब्लिकेशन हुने वा कम गुणस्तरको सामानको थिचोमा पर्ने त होइन भन्ने चिन्ता छ । बजारमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा नै मुख्य चुनौती हुन् । तर, त्यसमा म सजग छु ।