नयाँदिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ ।
भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको एक फैसलाले गान्धीको पुनरावेदनमाथि उनीविरूद्धको सजाय र वायनाडबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो ।
सर्वोच्चको फैसलाको आधारमा लोक सभा सचिवालयले आज(सोमबार) गान्धीको वायनाडबाट लोक सभाका लागि भएको प्रतिनिधित्वलाई पुनः बहाली गरेको हो ।
‘२४ मार्च, २०२३ को अधिसूचना नं २१/४९३०/२०२३/टीओ (बी) को निरन्तरतामा, भारतको सर्वोच्च अदालतले सन् २०२३ अगस्ट ४ मा विशेष अपील अनुमति (सीआरएल) नम्बर ८६४४/२०२३ मा एक आदेश पारित गरेको छ, जसले केरलाको वायनाड संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने लोकसभा सदस्य राहुल गान्धीको दोषसिद्धिमा रोक लगाएको छ,” लोकसभा सचिवालय द्वारा जारी एक आधिकारिक अधिसूचनामा भनिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै ‘मोदी उपनाम’ टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो । गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो ।
उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई ‘मोदी उपनाम’ को टिप्पणीका कारण सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उनको सजाय रोक्न अस्वीकार गरेको थियो ।
यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसदपदका लागि अयोग्य घोषित गरिएको थियो ।