काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही साउन २ गतेदेखि १० गते सम्पन्न भयो । बैठक लाइभ गरेर कांग्रेस पारदर्शी छ भन्ने सकारात्मक सन्देश दिने प्रयास सभापति शेरबहादुर देउवाले दिए । बैठकको लाइभ गर्न नहुने पक्षमा थिए महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा । तर, सभापतिले नै बोलेपछि उनीहरूको ओठमुख सुक्यो । केन्द्रीय समिति बैठक लाइभ भएपछि इन्टरनेटको एक्सेसमा हुने सबैले बैठकको गतिविधि नियाल्ने अवसर पाए ।
कांग्रेसलाई रुपान्तरण गर्छौ भनेर कम्मर कसेका महामन्त्रीद्वय थापा र शर्माले दुई विषयलाई प्राथमिकता दिएर बैठकमा गएका थिए । उनीहरू ती दुबै विषयलाई बैठकबाट पास गराउन असफल भएका छन् ।
पहिलो एजेण्डा थियो नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई मुद्दा किनारा नलाग्दासम्म निलम्बन गर्ने । त्यस मामलामा महामन्त्रीद्वय निरिहजस्तै बने । बैठकमा उनीहरुलाई दह्रो गरेर साथ दिने नगन्यमात्र भए । प्रायः नेताहरूले खाणको पक्षमा वकालत गरे । विगतका परम्परालाई निरन्तरता दिनु पर्ने बताए । फलस्वरुप बैठकको निर्णयमा खाणबारे मौनता देखियो । महामन्त्री थापाले यसबारे बैठकको निर्णयमा लिखित फरक मत राखे । त्यसमा अर्का महामन्त्री शर्माले समर्थन गरे ।
महामन्त्रीद्वयको अर्को एजेण्डा थियो नीति महाधिवेशन गर्ने । त्यो पनि नगर्ने, त्यसको सट्टा महासमिति बैठक बोलाउने भनेर सभापति देउवा र संस्थापन पक्षले टारिदियो । अर्थात, उनीहरू नीति महाधिवेशनको सट्टामा महासमिति बैठक बोलाउन नै राजी हुनुपर्ने अवस्था आयो ।
यी बाहेक बैठकमा धेरै सभापति देउवा नै हावी भएको देखियो । धेरै केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा तारो थापा र शर्मालाई नै बनाए । उनीहरूले आफ्ना धारणा राख्नुभन्दा पनि आफूमाथि बर्सिएका प्रश्नको जवाफ दिन नै केन्द्रित हुनपर्ने अवस्था आयो ।
थापा र शर्माले महामन्त्री जितेपछि पार्टीका युवापंक्तिले धेरै आशा गरेका थिए । ती आशालाई उनीहरुले अनुभूति गर्नेगरी काम गर्न सकेका छैनन् । संस्थापनइतर समूह छिन्नभिन्नजस्तै अवस्थामा पुगेको छ । समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला महामन्त्रीसँग भन्दा नजिक सभापति देउवासँग रहेको पछिल्ला गतिविधि हेर्दा देखिन्छ । संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेका थापाले ८९ मतमा जम्मा २५ मतमा चित्त बुझाउनु प¥यो । कांग्रेसमा कतिसम्म पत्याइएन् भने पपुलर मत ल्याएर देउवालाई हराउने रणनीति बुनेका उनले आफ्नै गुटको पूरै मतसमेत पाउन सकेनन् । शेखर–गगन समूहमा ३२ सांसद थिए । तर, संसदीय दलमा थापाले २५ मत मात्र पाए ।
यसले विस्तारै उनको बार्गेनिङ पावरमा क्षयिकरण हुँदै गएको छ । यसले १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित निर्वाचित महामन्त्रीद्वयलाई कांग्रेसको पुरानो पुस्ताले स्वीकार्न नसकेको प्रस्ट हुन्छ ।
निर्णायक दलीय बैठक र वार्तामा महामन्त्री भए पनि प्रायः थापा र शर्मालाई जानकारी नै हुँदैन । सत्ता हेरफेरको रस्साकस्सी चलिरहेको बेलामा महामन्त्रीद्वय थापा र शर्मा त्यहाँ सहभागी हुनुपर्नेमा पोखरामा एउटा साहित्य उत्सवको मञ्चमा एकअर्काको प्रशंसा गर्दै थिए ।
कांग्रेसले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्ने निर्णय लिँदा महामन्त्रीद्वयले बैठकमा असहमति दर्ज गर्दै नोट अफ डिसेन्ट लेखे । सोही रणनीतिबाट सभापति देउवाले धेरै नबोलेरै प्रचण्डलाई वामपन्थी छाताबाट आफूतिर ताने । त्यहाँ पनि रणनीतिक रूपमा थापा र शर्मा कमजोर देखिए ।
कांग्रेसले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्ने निर्णय लिँदा महामन्त्रीद्वयले बैठकमा असहमति दर्ज गर्दै नोट अफ डिसेन्ट लेखे । सोही रणनीतिबाट सभापति देउवाले धेरै नबोलेरै प्रचण्डलाई वामपन्थी छाताबाट आफूतिर ताने । त्यहाँ पनि रणनीतिक रूपमा थापा र शर्मा कमजोर देखिए ।
३० वैशाख २०७९ को स्थानीय तह, ४ मंसिरको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा थापासहित सिंगो शेखर कोइराला समूह चुनावी गठबन्धनको विपक्षमा थियो । महामन्त्री थापाले चितवन पुगेर ‘अब कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन’ भन्ने भाषणा पनि गरे । तर, गठबन्धन गरेर कांग्रेस निर्वाचनमा होमियो । थापाले सहर्ष स्वीकारे ।
१० वैशाखको उपनिर्वाचनमा चितवन २ र तनहुँ १ को उपनिर्वाचनमा थापा र शर्मालाई कांग्रेसले चुनावी कमाण्डर तोकेकोे थियो । कांग्रेसले जित्न त परैको कुरा भयो, मंसिरमा पाएको मत पनि जोगाउन सकेन ।
गगन–विश्वलाई महामन्त्री जिताउँदा कांग्रेस पंक्तिमा जुन उत्साहको सञ्चार भएको थियो, डेढ वर्षमै त्यो करिब–करिब निराशामा परिणत भएको छ । गगन–विश्व लोकप्रिय मतसहित महामन्त्रीमा विजयी हुँदा आम कार्यकर्ता मात्र होइन, राजनीतिप्रति चासो राख्ने जोकोहीमा अब कांग्रेस विधि र प्रणालीमा चल्छ भन्ने आशा जगाएको थियो । तर, विधान मिचेर बलमिच्याइँ गर्ने पुरानो रोग निको भएन । उनीहरुले न पार्टी सही ढंगले परिचालन गर्न सके, न विधि, विधान र पद्धतिमा चलाउन सके ।
दुई महामन्त्री पार्टी सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट मात्रै देखिएका छन् । देउवालाई दबाबमा राख्नेगरी बैठकमा प्रस्तुत हुन र अनिच्छुक निर्णयमा असहमति दर्ज गर्ने आँट गर्न सकेका छैनन् । न उनीहरूको सिफारिसमा मन्त्री नै हुन्छन् । पार्टीमा झण्डै दुई तिहाई बहुमतसहित हाबी देउवाका अघि महामन्त्रीद्वय निरीहजस्तै देखिएका छन् ।