काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लाई सुम्पिएपछि सुन तस्करीको थप अनुसन्धान अर्थ मन्त्रालयतिर सोझिने देखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गरिएको घटनाले माओवादीसंग क्रुद्ध बनेका नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । तर, अहिले सुन प्रकरणको छानबिन संसदीय समितिले गर्न पाउनुपर्छ भनेर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेको छैन । जबकि, भन्सारबाट जाँचपास भएर बाहिरिएको सय केजी सुन तस्करीमा अर्थमन्त्री महत नैतिक जिम्मेवारीमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको झण्डै एक क्वीन्टल सुन तस्करीमा गृह मन्त्रालयको खास कमजोरी थिएन । विदेशबाट आयात भएका सामानको एक्सरे जाँच गर्ने, बिल बिजक हेर्ने, सामान जाँचपास गर्ने कार्य भन्सार विभागल गर्दै आएको छ । भन्सार विभाग अर्थ मन्त्रालय मातहत पर्छ ।
अर्थ मन्त्रालय सत्ता गठबन्धनमा नेपाली कांग्रेसको भागमा परेको छ । अर्थ मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत छन् । अचम्मको कुरा छ, अध्यारोमा ढुंगा हान्ने बानी परेको नेकपा एमालले अहिलेसम्म अर्थमन्त्री महतमाथि छानबिन र राजीनामाको कुरा उठाएको छैन । बरु, संसद अवरुद्ध गर्दै संसदीय समितिमार्फत सुनको छानबिन माग गर्दै आएको छ ।
प्रधानमन्त्रीको कार्यालय अन्तरगत रहेको राजश्व अनुसन्धान विभागले थालेको अनुसन्धानका सबै प्रमाण र फाइलसहितका प्रतिवेदन सीआईबीलाई बुझाएकोेले गृह अन्तरगतको सीआईबीले नयाँ ढंगले यो प्रकरणको खोजी गर्ने बताइएको छ । मुलतः संगठित अपराधबारे छानबिन गर्ने प्रहरीले हो, संसदीय समितिले होइन । यसमा एमालेको टाउको किन दुखेको होला रहस्यमय छ ।
यो प्रकरणमा समातिएका चिनियाँमूलका बेल्जियन नागरिक दावा छिरिडलाई पक्राउ गरेपछि सुन तस्करीको सुई माओवादीका नेताहरू बर्षामान पुन, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वसभामुख ओनसरी घर्तीसम्म पुगेको छ । दावाकी श्रीमती अमला रोका मगरमार्फत सुनतस्करहरूले माओवादीका प्रभावशाली नेताहरूसंग हिमचिम बढाएर आफ्नो तस्करी धन्दा निर्वाध रुपमा सञ्चालन गरिरहेका रहेछन् । अमला रोका मगर रोल्पाकै चेली भएको बताइएको छ ।
सुन तस्करीको लागि अहिले प्रयोग भएको रेडि टे«डर्सको दर्ता मिति र डा.महतको अर्थमन्त्रीको नियुक्तिको समय लगभग एकै समय भएको छ । महत गत १७ चैतमा अर्थमन्त्री नियुक्त भएका थिए भने रेडी ट्रेड १९ चैतमा दर्ता भएको थियो ।
यसले हालसम्म २८ खेप सामान आयात गरेको छ । त्यसमध्ये साउन २ गतेको अन्तिम खेप राजश्वले समात्यो । त्योभन्दा अगाडि २७ खेप सुन निर्वाध तस्करी भएको छ । रेडी टे«ड कम्पनीले यो अवधिमा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एक पटक मेकानिकल मोटर आयातको नाममा सुन तस्करी गरेको पाइएको छ ।
अर्थमन्त्रीमा महत नियुक्त हुँदा भन्सार विभागका महानिर्देशक माओवादीनिकट चक्रबहादुर बुढा थिए । उनकै पालामा २७ पटक ब्रेक प्याड र सेभर मेसिनमा सुन तस्करी भएको पुष्टि भएको छ । यसरी अर्थ मन्त्रालयको मिलेमतोमा सुन तस्करी भइरहेको सूचना हालका राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पाएपछि प्रधानमन्त्री प्रचण्डले उनलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए ।
भन्सार विभागबाट २७ पटकसम्म रेडी ट्रेडर्सको नाममा आएको कार्गो छुट्नु र राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन हुनासाथ सय केजी सुन बरामद हुनुले अर्थमन्त्री महत नैतिक संकटमा परेका छन् । माथिल्लो सेटिङ विना यति ठूलो परिणाममा सुन तस्करी हुन सक्दैन भन्ने कुरा २७ पटक भन्सारबाट रेडी ट्रेडर्सको सामान छुटेबाट पुष्टि हुन्छ ।
त्यसमाथि एक जना चिनियाँ व्यापारीले आयात गरेको विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन छुटाउन कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई बारम्बार फोन गरेको घटनाले सुनकाण्डमा माओवादी नेताहरूको संलग्नता देखिन्छ ।
यति ठूलो मात्रामा सुन तस्करी हुने त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय र भन्सार विभागलाई अर्थमन्त्री महतले त्यति गम्भीरतापूर्वक लिएको देखिदैन । मन्त्रालय सम्हालासाथ महाशाखाका प्रमुखहरू फेरेका मन्त्री महतले भन्सार विभागका महानिर्देशक भने बजेटपछि जेठ १७ गते मात्र फेरेका थिए । सुन तस्करी काण्ड सार्वजनिक भएपछि पनि उनी भन्सार निरीक्षणमा गएनन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार अवलोकन भ्रमण गरेपछि मात्रै अर्थमन्त्री महत पुगेका थिए ।
परराष्ट्रमन्त्री हुँदा छवि जोगाएका मन्त्री महत उर्जा मन्त्री हुँदा भने बदनाम भएका थिए । कर्मचारीको सरुवा बढुवा र आयोजनाहरूको पीपीए तथा निर्माण अनुमति दिने मामलामा सचिव शंकर कोइरालासंग भएको विवाद अदालतसम्म नै पुगेको थियो । सुन तस्करी काण्डमा नेपाली कांग्रेसका अरु नेताहरू गृहमन्त्री र प्रधानमन्त्रीमाथि खनिए पनि सांसद सुनिल शर्माले भने अर्थमन्त्री डा.महतको राजीनामा मागेका छन् ।